बेरोजगार युवालाई पोल्याण्ड पठाइदिन्छु भन्दै दर्जनौं नेपाली युवाहरूलाई ठगी गर्ने २ युक्रेनी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको पुतलीसडकबाट २ जना युक्रेनी नागरिक बिटाली बिल्या र नातालीया मेन्लीचुकलाई पक्राउ गरेको हो।

महाशाखाका अनुसार उनीहरूले पुतलीसडकमा पिपुल वर्क ग्रुप नामको कार्यालय खोलेर पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ।

पोल्याण्ड पठाइदिने भन्दै उनीहरूले उदयपुर वेलगरका बुद्धिराज विष्टसहित ९ जनालाई ठगी गरेको उजुरीपछि महाशाखाले पक्राउ गरेको हो।

महाशाखाका अनुसार उनीहरु सन् २०१८ अप्रिल १८ मा पर्यटक भिसामा नेपाल आएका थिए।

उनीहरूले सामाजिक सञ्जालको प्रयोग गरी फेसबुक र भाइबरमार्फत् पोल्याण्डमा सजिलैसँग रोजगारमा जान सकिने , मासिक ९० हजार देखि १ लाखसम्मको तलब साथै अन्य आकर्षक सुविधा समेत रहेको भन्दै प्रलोभनमा पार्ने गरेको खुलेको छ।

पोल्याण्डसम्म पुग्न जम्मा ७ लाख ५० हजार लाग्ने र प्रक्रिया थालनी गर्दा २ लाख सम्म लाग्ने भन्दै प्रतिव्यक्ति १ लाख ८० हजार देखि २ लाखसम्म रकम संकलन समेत गरेको खुलेको महाशाखाले जनाएको छ।

महाशाखाले उनीहरूको साथबाट विभिन्न कम्पनीका कागजपत्र तथा छापहरू समेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई ठगी मुद्दामा थप अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार