सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डले रामेछापको दोरम्बा हत्याकाण्ड तत्कालीन दरबारकाे ठाडाे निर्देशनमा बताएका छन् ।

०६० साल साउन ३२ गते आफ्ना पार्टीका कार्यकर्ताको हत्या शाही नेपाली सेनाले नभई दरवारको ठाडो निर्देशनमा भएको बताउँदै त्याे घटनालार्इ विशेष रुपमा लिएको बताएका छन् ।

१५ औं दोरम्बा हत्याकाण्ड स्मृती सभामा तथा सहिद परिवारका सदस्यहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले बिहिबार सो कुरा बताएका हुन् । उनले सरकारसँग दोश्रो पटक भएको बैठकलाई विफल बनाएर शासन सत्ता हातमा लिने उद्देश्यका साथ नियोजित घटना घटाइएको बताए ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरदा दोरम्बाको जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनालाई सेनाले हत्या गरेको थियो । घटनापछि माओवादीले सरकारसँगको वार्ता भङ्ग गरेको थियो ।

अध्यक्ष प्रचण्डले यस हत्याकाण्डपछि देशमा गणतन्त्र ल्याउन सफल भएको बताए । तत्कालीन शाही नेपाली सेनाले निर्ममतापूर्वक माओवादी कार्यकर्तालाई मारिएको घटना स्मरण गर्दै सहिदले गर्दा संघीय गणतन्त्र र पार्टी एकीकरण भएको भन्दै सहिद परिवारका सदस्यहरुलाई मन दरो पार्न अनुरोध गरे ।

काभ्रे, रामेछापको वेथानको पानीघाट हुँदै दोरम्वा र काभ्रेको शैलुङ्ग क्षेत्रसम्म तीन जिल्लालाई समेटेर युद्ध पर्यटकीय मार्ग बनाएर जनताको जीवनस्तर उकास्ने पर्यटनको क्षेत्रमा काम गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने बताए । कार्यक्रममा बोल्दै उनले सहिद परिवारका बालबच्चाको शिक्षा र स्वास्थ्यमा ध्यान दिने र द्वन्द्वमा मारिएका सबैको भरण पोषण सरकारले गर्नु पर्ने बताए ।

पीडितले हत्याकाण्ड भएको १५ वर्ष हुँदा पनि न्याय नपाएको भन्दै गुनासो गर्दै आएका छन् । यसैगरी नेकपाका अध्यक्ष प्रचण्डले न्यायका लागि पहल गर्ने आश्वसन दिए पनि पीडितहरु विश्वस्त हुन सकेका छैनन् ।

दुई चरणमा घटनाको अनुसन्धान गरिए पनि घटनामा नेपाली सेना दोषी भएको भन्दै अन्तराष्ट्रि मानव अधिकार संस्था एमनेष्टि इन्टरनेसनलले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरिएको थियो । तर, सरकारले पीडकलाई उन्मुक्ति दिएको पीडित परिवारको गुनासो छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार