सत्ताधारी नेकपाका नेता झलनाथ खनालले अाफुलार्इ पार्टी वरियतामा केपी अाेलीले धाेका दिएकाे भन्दै उनले गरेकाे अन्यायका विरूद्ध संघर्ष गर्ने बताएका छन् ।
राताेपाटी अनलाइनसँगकाे कुराकानीमा खनालले अाफुले न्याय नपाएसम्म संघर्ष गरिरहने बताएका छन् । खनालसँगकाे कुराकानीकाे सम्पादित एवं सानाे अंश :

२०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकीकरण भएको दिन तर एकीकरण घोषणा समारोहमा तपाईं देखिनुभएन । मानिसहरूले तपाईंको अनुपस्थितिलाई अचम्म नै माने । तपाईं त्यसबेला चीनमा हुनुहुन्थ्यो । तपाईंलाई पार्टी एकताको पूर्वजानकारी थिएन कि, खासमा भएको चाहिँ के थियो ?
त्यो एउटा संयोग थियो । पार्टी एकताको प्रक्रिया अघि बढ्दै छ, त्यो कुनै पनि बेलामा हुन सक्छ भन्ने एकातिर सुनिश्चित त थियो । अर्कोतिर त्यहिबेला हुन सक्छ भन्ने जानकारी चाहिँ थिएन । न मलाई जानकारी थियो न त पार्टीका अध्यक्षहरूले यो दिन गर्ने भनेर टुङ्गो नै गरेका थिए । अहिले जुन अप्रेसन गरेर आएँ यही उपचारकै सिलसिलामा अध्ययन गर्न म चीन गएको थिएँ । त्यहीबेलामा यहाँ एकता भयो । यो एउटा संयोग हो ।
यसको मतलव अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग सल्लाहमै जानुभएको थियो ?
म चीन जानुपूर्व सरसल्लाह गरेर नै गएको हुँ । तर पार्टी एकीकरण कतिबेला हुन्छ भन्ने कुनै सुनिश्चितता थिएन । त्यहीबेला अचानक एकीकरण गरिहालौँ भन्नेखालको कुरा आयो, त्यसपछि अघि बढौँ भन्ने भयो ।
चीनबाट फर्केपछि तपाईंले बरियताका विषयमा असन्तुष्टि राख्नुभएको थियो । पार्टी बैठकमा कुरा राख्ने भन्नुभएको थियो । तपाईं महाधिवेशनबाट बरिष्ठ नेता हुनुभयो । तर पनि अहिले तपाईं पार्टीमा दुई जना अध्यक्ष र माधव नेपालपछि चौथो बरियतामा हुनुहुन्छ । कसरी लिनुभएको छ ?
इतिहासका धेरै कुरातर्फ म जान चाहन्नँ तर म पूर्व नेकपा मालेको ३९ सालमै महासचिव भएको मान्छे हुँ । त्योभन्दा अगाडि कोअर्डिनेसन केन्द्र थियो, त्यसको सचिव भएको हुँ । मैले कम्युनिस्ट मुभमेन्टलाई निरन्तर नेतृत्व गर्दै आएँ । पटक–पटक मैले पार्टी प्रमुख भएर काम गरेँ । ६४ सालमा पनि पार्टी अध्यक्ष भएर काम गरेँ । पार्टी महासचिव भएँ । त्यसपछि अध्यक्ष भएँ आठौँ महाधिवेशनबाट । ७० सालसम्म मैले पार्टीलाई हाँकेर आएँ । यी सम्पूर्ण कुराहरू इतिहासले जे प्रमाणित गर्छ, त्यो तथ्यहरूले विश्लेषण गरिनु पर्थ्यो । तर तथ्यहरू एकातिर, निश्चित नेताहरूका इच्छा एकातिर भयो । तिनै निश्चित नेताहरूले आफ्नो इच्छा बमोजिम पनि गर्ने काम भयो । यो अन्यायपूर्ण काम भएको छ । त्यो अन्यायको बारेमा मैले बोलिसकेँ अब पटक पटक दो¥याइ रहन चाहन्नँ ।
यो विषय पार्टी बैठकमा पनि राख्छु भन्नुभएको थियो ?
पार्टीको सचिवालय बैठकमा यो कुरा राखिसकेको छु । त्यसबारेमा छलफल पनि भएको छ ।
तर तपाईंको असन्तुष्टि हल भएन नि ?
अहिले पनि मेरो असन्तुष्टि जारी छ र मेरो लडाइँ पनि जारी छ ।
–यो विषय पार्टीमा कहिलेसम्म राख्नुहुन्छ ?
यो निरन्तर राखिरहन्छु । जबसम्म कम्युनिस्ट पार्टीले न्याय दिदैँन, न्याय प्राप्त नहुँदासम्म मेरो लडाँइ जारी रहन्छ ।
तर पनि झलनाथ खनाललाई धोका मात्र हुन्छ । तपाईंको स्वभावले कि तपाईंसँग बलियो गुट नभएर हो ?
मैले तपाईंलाई स्पष्ट बताइसकेँ । मेरो भूमिका के हो, मैले के काम गरेर आएँ । मेरो जीवन सिङ्गो खुला किताबजस्तै छ । तर त्यो खुला किताबको विषयमा कसैले ढाँटेर, कसैले छलेर, कसैले उचालेर वा कसैले पछारेर तलमाथि पार्न सक्दैन । त्यसैले कसैले मलाई उचालेर वरिष्ठता बनाइदिने, कसैले फेरि पछारिदिने हुँदैन । तथ्य के हो ? त्यसको आधारमा सत्य पत्ता लगाउनुपर्छ । माक्र्सवादी पद्धति भनेको त्यो हो । अहिलेको नेतृत्वले माक्र्सवादी पद्धतिलाई छाडेको छ ।







