भाद्र महिनाको सङ्क्रान्ति शुक्रवार परेको छ र सूर्यको राशिसङ्क्रमणको समयमा मेष लग्न, शुक्लपक्षको सप्तमी तिथि र तुला राशिको चन्द्रमा रहने छ । समग्र ग्रह परिवेश यस्तो रहने छ, सूर्यले भाद्र महिनाभरि सिंह राशिमा विचरण गर्नेछन् ।
यस महिनामा चन्द्रमाका अतिरिक्त बुध र शुक्र ग्रहले राशि परिवर्तन गर्नेछन् । सुरुमा कन्या राशिमा रहेको शुक्र ग्रह महिनाको १९ गतेदेखि आफ्नै राशि तुलामा प्रवेश गर्नेछ, त्यस्तै सुरुमा कर्कट राशिमा रहेको बुधले १५ गते सिंह राशिमा प्रवेश गर्नेछ । अन्य ग्रहहरूमध्ये मङ्गल र केतु ग्रह मकर राशिमा, राहु ग्रह कर्कट राशिमा, बृहस्पति ग्रह तुला राशिमा र शनिश्चर ग्रह धनु राशिमा अघिल्लो महिना जसरी नै विचरण गर्नेछन् ।
ग्रहसभामा राहु र केतु सदैव बक्र गतिमा रहने गर्दछन्, त्यसबाहेक यो महिना शनि ग्रहले १९ गतेसम्म र मङ्गल ग्रहले ०६ गतेसम्म बक्र गति ग्रहण गर्नेछन् । भाद्र १५ गतेपछि बुध ग्रह सूर्यका साथमा रहने हुँदा यो महिनाको उत्तरार्द्धमा बुधादित्य योग रहने छ । त्यस्तै विगत केही महिनादेखि मङ्गल र केतुले बनाएको युतिसम्बन्ध यो महिना पनि कायम हुनेछ ।
यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा यो महिना जनताले आमरूपमा सुख पाउने महिना हो । यद्यपि घिउ, तेल, इन्धन आदि रसादि चिजबिजको मूल्यमा बृद्धि हुनेछ । त्यस्तै गुलियो पदार्थ चिनी, सक्खर, गुड आदि, विलासिताका सरसामान तथा गहनागुरियाको मूल्यमा पनि बृद्धि हुनेछ तर खाद्यान्न मूल्यमा गिरावट आउने छ । दुग्धजन्य पदार्थको उत्पादनमा बृद्धि हुनेछ । वर्षाको राम्रो सङ्केत छ । सरकारले उच्चपदस्थ कर्मचारी जिम्मेबारीमा व्यापकरूपमा हेरफेर गर्न सक्नेछ ।
सत्तापक्ष र प्रतिपक्षका बीचको आपसी कलह र द्वेषको वातावरण सुध्रिने सङ्केत छ, मेलमिलापको परिस्थिति सिर्जना हुनेछ । वित्तीय पक्ष र सेयर कारोबारमा महिनाको उत्तरार्द्धमा राम्रो देखिन्छ । मङ्गल र केतुको युतिसम्बन्ध यथावत रहेकाले कतैकतै मोटर, गाडी र विमानादिको दुर्घटनाको जोखिम पनि यथावत छ । अत्यधिक वर्षा हुनेहुँदा कतैकतै बाढी, पैह्रो र जनधनको नाश हुने घटना घट्न सक्छ । सानातिना समस्या देखिए पनि आमरूपमा राम्रै समय रहने छ ।
https://youtu.be/9i1k9bzBngk?t=51
https://youtu.be/E9YEp3CGNew







