
सर्वाेच्च अदालतकाे परिसरस्थित मानवअधिकार अायाेगकाे गाडीबाट पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई अाज शुक्रबार राती नै काभ्रे लगिएकाे छ ।
सर्वाेच्च अदालतकाे परिसरस्थित राष्ट्रिय मानव अधिकार आयोगको गाडीबाटै प्रकाण्डलार्इ प्रहरीले गिरफ्तार गरेको हाे । सर्वोच्चले रिहाई गर्न आदेश दिएलत्तै प्रहरीले पुनः गिरफ्तार गर्ने तयारी गरेपछि प्रकाण्ड लामो समयसम्म सर्वोच्चभित्रै बसेका थिए ।
सर्वाेच्चकाे परिसरस्थित मानव अधिकार अायाेगका अायुक्त सुदीप पाठककाे गाडीबाट प्रवक्ता प्रकाण्डलार्इ पक्राउ गरेर प्रहरीले अाफ्नाे भ्यानमा हालेर लगेकाे थियाे । प्रकाण्डलार्इ अाज काभ्रे लगिएकाे छ ।
अाज प्रकाण्डलार्इ पक्राउ गर्ने भएपछि आयोगका आयुक्त सुदिप पाठकको टोली सर्वोच्चमै पुगेको थियो । उनले पुनः गिरफ्तार गर्दा रिहाईको अनुभूति नहुने भन्दै पाठकले प्रकाण्डलाई आफ्नो गाडीमा राखेर आयोगमा लिन खोजेका थिए तर प्रहरीले गेटमै रोकेको थियो । यसअघि गिरफ्तार गर्न परिसरमै पुगेको प्रहरीलाई पाठकले बाहिर पठाएका थिए ।
प्रहरीले आयोगको गाडीलाई चारैतिरबाट घेरेर अगाडि बढ्न नदिएपछि प्रकाण्ड आफै गाडीबाट बाहिर निस्केका थिए । पाठकले प्रहारीलाई आयोगमा आउनु भन्दै आग्रह गर्दा माथिको आदेश भन्दै प्रहरीले सहयोग गर्न भनेको थियो ।
पक्राउ पुर्जी बोकेर आएको प्रहरीले टोलीलाई मानव अधिकार हनन् हुने कुनै काम नगर्न पाठकले भनेका थिए । पाठकसँग प्रहरीले प्रकाण्डलाई काभ्रे लिने जानकारी दिएको थियो । अाधारभूत कुरा पूरा गरेर चाँडोभन्दा चाँडो काभ्रे पुर्याउने प्रहरीले पाठकलाई भनेको थियो ।
जबरजस्त चन्दा उठाएको आरोप पुष्टि नभएपछि सर्वोच्चले शुक्रबार प्रकाण्डलाई रिहाई गर्न आदेश दिएको थियो । प्रहरीले काभ्रेमा एनसेल टावरमा आगजनी गरेको अर्को मुद्दा दर्ता गराएको थियो ।
गैरकानूनी रुपमा गिरफ्तार गरिएको भन्दै छोरा नरेन्द्रबहादुर बिकले रिहाईको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि बहस गर्दै न्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको ईजलास प्रकाण्डलाई रिहाईका आदेश गरेको थियो ।
प्रवक्ता प्रकाण्डसँगै गिरफ्तार परेका हरिचन्द्र आचार्य र मानबहादुर श्रेष्ठ भेन रिहा भएका छन् । प्रकाण्डसहित तीनै जनाको रिहाईको माग गर्दै परेको रिटमाथि वरिष्ठ अधिवक्ता शम्भु थापा, रमशकुमार श्रेष्ठ, एकराज भण्डारीसहित २८ जना वकिलले बहस गरेका थिए ।
प्रहरीले पुनः गिरफ्तार गरेपछि संचारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै सरकारले सर्वोच्च अदालतको अादेश पनि नमान्नु भनेको ठूलो विडम्बना भएको बताए । उनले गृह मन्त्रालयले नै गिरफ्तार गर्न भनेकोले प्रहरीसँग केही भन्नु नभएको भन्दै अाफू जान तयार रहेको बताए ।
नेकपाका पोलिट्ब्यूरो सदस्य मोहन कार्की र कृष्ण धमला पनि काभ्रे प्रहरी हिरासतमा राखिएको छ ।







