सबै भन्दा पहिले त मन्त्री रघुवीर महासेठलाई स्मरण गराउ कि उहाँले बोले अनुसार कलंकी नागढुंगा सडक कालो पत्रे हुन अक ९ दिन बाँकी छ । मन्त्री ज्यु नबिर्सनु होला ।
आजको दिन गइहाल्यो त्यो दिन भइहाल्यो । काम गर्नलाई तपाईसँग मात्र ७ दिन बाँकी छ । अब नियमित प्रसंगमा जाऊँ । यो मुलुकको आर्थिक अवस्थाबारे सबलाइ्र्र थाहा छ । ऋण र अनुदानबिना धेरै कुरा सम्भव छैन ।
परनिर्भरता यति धेरै छ कि जीवन धान्न चाहिने हरके बस्तु आयात गरिन्छ । नुन, तेल, कपडा, चामल, दाल, फलफुल, तरकारी, मसला, माछा, मासु, विरुवा, फुल, औषधि, कागज, कस्मेटिक हरेक वस्तु आयात हुन्छ । इलेक्ट्रीक्स, मेसिनेरी, यान विमान को त न कुरा गरौ संसारमा नेपालीले मात्रै खाने गुन्द्रुक पनि चाइनबाट आउँछ ।
यस्तो छ यो देशको हालत । तर केहि छैन । मुलुकमा भर्खरै राजनीतिक परिर्वतन आएको छ, संविधान बनेको छ, नीति नियम, कानुनहरु भटाभट पास हुँदैछन्, दुई तिहाइको सरकार छ । आज गरिब भएका हामी भोली अवश्य धनि हुनेछौ तर गरीब रहिरहदा,संवृद्धी हासील भइनसक्दा दशका प्रदेशका मन्त्रीहरुले करोड करोडको गाडी चढ्नु असोभनिय हुन्छ ।
देश अनसारको भेष हुनुपर्छ अनि जनतालाइ्र्र पनि पच्छ । थाप्लोमा ऋण नै ऋण बोकेका जनताको रगत पसिनाको कमाईबाट मन्त्रीहरुको ऐस आरामको जीन्दगी बाँच्न मिल्दैन । देश ऋणमा भर परेको छ, अनुदानमा भर परेको छ तर देशका मन्त्रीहरु करोड करोडको गाडी चढ्छन् ।
ए हजुर ५÷१० बर्ष काम गरेर सिष्टम बसालेर यो मुलुकलाई अलिकति सम्पन्नता तर्फ उन्मुख त गराउनुस् । त्यसपछि हेलिकप्टर नै चढेपनि केही छैन, सुहाउँछ । देशको मन्त्री, पैदल हिड्नु पर्दैन, सार्वजनिक सवारी साधन चढ्नु पनि पर्दैन । अहिलेलाइ्र्र देशको आर्थिक अवस्थालाई मध्यनजर राखी सकेसम्म सस्तो, राम्रो कण्डिशनको सानो तीनो गाडी चडे हुँदैन ?
मन्त्रीले सस्तो गाडी चड्दैमा देश उँभो लाग्ने चाही होइन । तर यसो गर्दा जनतामा सकारात्मक सन्देश प्रवाह हुन्छ । फेरी मन्त्री पद फुस्केपछि कतिपयको आर्थिक हैसियत मोटर साइकल चड्ने पनि त छैन होलानी ।
व्यक्तिगत पैसाले गाडी किनेर चढ्नु प¥यो भने महंगो गाडी चढ्न सक्ने कति जना होलान ? अनि सरकारी पैसाले चाही महंगो गाडी किन चड्नु प¥यो ?
फेरी केही वर्ष अगाडी मात्र एउटा डेराको कोठामा, दम दिने स्टोभ २/४ वटा थाल कचौरा, एक दुई ओटा कुच्चीएका डेक्ची, उहि कालो कराई र सधै वासर विग्रिरहने प्र्र्रेसर कुुकुर लिएर जीवन शुरु गर्नू भएकोहरु नै त हो तपाईहरु अधिकांश ।
देशमा परिर्वतन आउना साथ तपाईहरुको जीवन विलासी बनाउँदा आफै पनि अत्तिनु भएकै होला । राजा महाराजाहरु भए त लौ ठिकै हो दरबारमा जन्मेको, सुनको थालमा, चाँदीको चम्चाले भुजा ज्युनार गरी बक्सेको हुन्थे । तर जनताको छोरा मन्त्री प्रधानमन्त्री र जनताकी छोरी राष्ट्रपति भएको देशमा राष्ट्रपतिको घर कत्रो ठुलो ?
कति महंगो गाडी, कति महंगा महंगा साडी सर्वसाधारणलाई जाममा घण्टौ घन्टा अड्काएर उहाँको चाही सवारी ? यहि शहरमा बसमा झुण्डीएर यात्रा गरेको, डेरामा स्टोरमा दम दिएको, कसौडी र कराई मस्काई मस्काई माझेको यति चाँडै बिर्सिनेले, जनताको भाग्य बदल्न सक्दैन ।
हिजो त्याग गरेको बदलामा आज भोज गर्नुपर्छ भनेर मुखले नबोले पनि व्यवहारले कानका जाली फुट्ने गरी चिच्याई चिच्याई त्यही भनीरहेको छ । राजनीति गर्नेले भोकै मर्नुपर्छ भनेको होइन तर जनाताको घरमा सुख शान्ती र थोरै समृद्धि नभित्र्याइकन आँफु ठुलो घर, महंगो गाडी, मिठो खाना र महंगा नाना लगाएर अझ तिनै जनताको हुर्मत लिने गरी साइरन बजाउँदै किचौला झै राकिएर, बाघ नै मारौला झै गरी हुइकिएको १, २, ३ सुहाएन ।
१०÷१२ लाखमा भने जस्ता गाडी पाइन्छन्, आफ्नो पैसाले हेलिकप्टर किने पनि भयो तर गरिब जनताको रगत पसिनाबाट उठाएको करको पैसाले करोडौको गाडी किन्ने, चड्ने र त्यस्तो बजेट पास गर्नेहरुले एक पटक यो तस्वीर हेर्नुहोला ।
यो तस्वीर सुदुर पश्चिमको पाहाडी जिल्ला बझाङको हो, कुनै युद्ध ग्रस्त अफ्रिकी देशको होईन । यहाँ बच्चाहरुका लागि पर्याप्त खाना छैन, सुत्केरी आमाका लागि पौष्टिक आहार छैन, शिक्षा छैन, औषधि छैन । यस्तो मुलुकको मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, विशिष्ठ र भूतपूर्वहरु भएर करोड करोडको गाडी चड्दा पनि तपाईहरुलाई अझै सुविधा पुगेको छैन भने लैजानुस तस्वीरमा देखिएका यी बालक र यी जस्तै बझाङका करिब २२ हजार बालबालिकाको बाँकी रहेको रगत र एक मुठी सास ।
त्यसपछि पनि सुविधा पुगेन भने भन्नुहोला । बाजुरा, जाजरकोट, कालीकोट, मुगु, हुम्ला, जुम्ला, आदी ठाँउका गरिब नेपालीहरुलाई पनि कहि न कहि अझै निर्चोन सकिन्छ । भन्नुहोस् करोडकै गाडी चाहिएकै हो त ?







