उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ ।

इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो ।

चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट (फिनिसिङ) को काममा ढिलाइ भएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए । ‘तीन महिनासम्म कम्पनीले आन्तरिक समस्याका कारण काम गर्न सकेन, समस्या समाधान भएपछि डेढ महिनादेखि काम सुरु भएको छ, तीव्र गतिमा काम गर्दा पनि अझै दुई महिनाभन्दा बढी समय लाग्ने देखिन्छ’,-उनले भने ।

अन्तिम सजावटको काम सकेपछि पनि पानी ल्याउन मुहानमा ‘हेड बक्र्स’ काम सक्नुपर्ने हुन्छ । वर्षातमा ‘हेड बक्र्स’ को काम हुन नसक्ने भएकाले पनि काममा ढिलाइ हुने कार्यकारी निर्देशक कँडेलले बताउनुभयो । हाल मुहानमा ‘हेड बक्र्स’ को कामको तयारी मात्र भइरहेको छ ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरुङमध्ये हालसम्म ९ दशमलब ४ किलोमिटर सुरुङमा मात्र अन्तिम सजावट सम्पन्न भएको छ । बाँकी १८ किलोमिटर सुरुङको काम सक्न तीन महिना लाग्छ । विसं २०६६ साउनबाट सुरु भएको सुरुङ निर्माण २०७४ चैतमा सम्पन्न भएको थियो । चीनको चाइना रेल्बे कम्पनीले ठेक्का छोडी गएपछि डेढ वर्ष नयाँ ठेक्का प्रक्रियाका कारण काम रोकिएको थियो ।

सुरुङ निर्माण सम्पन्न भएसँगै अन्तिम सजावटको काम सुरु भएको थियो । अन्तिम सजावटको काम सकेपछि असोज २६ गते सुरुङबाट मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने सरकारको लक्ष्य फेरि संशोधन हुने भएको छ ।

आयोजनामा हालसम्म रु २५ अर्ब २० करोड खर्च भइसकेको छ । आयोजना सम्पन्न गर्न रु ३१ अर्ब लाग्नेछ । हालसम्म आयोजनाको भौतिक प्रगति ८३ प्रतिशत भएको छ भने वित्तीय प्रगति ९० प्रतिशत भएको उनले सुनाए ।

पानी सुन्दरीजल खसेपछि प्रशोधन गर्न अहिलेसम्मकै अत्याधुनिक प्रशोधन केन्द्रको पहिलो भाग निर्माण सम्पन्न भएको छ । पहिलो चरणमा निर्माण भएको प्रशोधन केन्द्रमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन हुनेछ । यो प्रशोधन केन्द्र डेढ महिनादेखि नै सञ्चालनमा आइसकेको छ ।

दोस्रो चरणको आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण शुरु भई ४० प्रतिशत काम सम्पन्न भएको छ । पुस मसान्तसम्म पहिलो चरणको दोस्रो भागको पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । प्रशोधन केन्द्रको पहिलो भागमा वाग्मतीको पानी हाली परीक्षण सम्पन्न भएको छ । परीक्षणमा राम्रो देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको थोक प्रणालीको सुन्दरीजल–धोबीखोला ११ किमी दूरी परीक्षण गर्दा चार ठाउँमा चुहावट भयो । गोकर्ण, चुच्चेपाटी, चावहिल र गोपीकृष्ण हल अगाडि चुहावट पाइएको निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले जानकारी दिए । सडक खनेर चारै स्थानका चुहावट टालिएको छ ।

चुहावट टालिएसँगै वाग्मती नदीमा वर्षाद्मा बढी भएको पानी हालेर प्रशोधन केन्द्रमा शुद्धीकरण गरी उपभोक्तालाई वितरण शुरु गरिएको छ । वाग्मती नदीबाट दैनिक थप तीन करोड लिटर पानी उपभोक्ताका घरमा पठाउने कामको शनिबार सभामुख कृष्णबहादुर महराले शुभारम्भ गरेका थिए ।

यसअघि वर्षात्मा दैनिक १३ करोड लिटर र हिउँदमा नौ करोड लिटर पानी उपत्यकाका धारामा वितरण हुने गरेको लिमिटेडका प्रवक्ता सुरेश आचार्यले बताए । तीन करोड लिटर पानी थप भएसँगै पानी वितरणमा सहज हुने लिमिटेडले जनाएको छ ।

लिमिटेडका दुई लाख ७० हजार धारामध्ये ७० हजार धारामा तीन करोड लिटर पानी वितरण हुनेछ । जोरपाटी, बौद्ध, महाँकाल, कपन, चावहिल, गौरीघाट, नक्साल, कमलपोखरी, ज्ञानेश्वरलगायत क्षेत्रमा हप्तामा पाँच दिन दुई घण्टा पानी वितरण गर्न सकिने जनाइएको छ ।

थोक वितरण प्रणालीको ६८ किमीमै पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । सम्पन्न भएको स्थानमा क्रमशः पानी परीक्षण गरिनेछ । वाग्मतीमा पानी बढी हुञ्जेल परीक्षण गरिसक्ने निर्देशनालयको लक्ष्य छ । वाग्मतीको पानी घट्ने समयसम्म परीक्षण नसकिए मेलम्चीको पानी हालेर जाँच गर्ने योजना छ । असोजसम्ममा मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने सरकारको लक्ष्य छ ।

पानी वितरण गर्न पहिलो चरणमा बोलपत्र आह्वान गरिएको ६७० किलोमिटरको वितरण सञ्जालमध्ये ६५० किलोमिटरमा पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । २० किलोमिटरको काम भदौमै सम्पन्न गरिने जनाइएको छ । पछि बोपत्र आह्वान गरिएको स्वयम्भु, बालाजु क्षेत्रको २३७ किलोमिटरमा पनि वितरण सञ्जाल निर्माण सुरु भएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म यो क्षेत्रमा पनि सञ्जाल बनाई सकिने जनाइएको छ । मेलम्चीको पानी वितरणका लागि उपत्यकामा नौ पोखरी निर्माण समेत सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार