काठमाडौं – कम्युनिस्ट सरकारको बेतिथीले गर्दा स्थानीय तहमा मनपरी कर उठाएपछि विरोध भइरहेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफूले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई करका विषयमा गम्भीर बन्न निर्देशन दिएको छ ।
जनतालाई मार पर्ने गरेर स्थानीय तहमा कर नबढाउन कांग्रेसले अनौपचारिक सकुर्लर जारी गरेको स्रोतले जनाएको छ । कांग्रेसले आफूले जितेका स्थानीय तहमा कर वृद्धि गरिएको भए निर्णय फिर्ता लिन पनि आग्रह गरेको छ ।
नेपाली कांग्रेसले स्थानीय तहमा वृद्धि भएको कर फिर्ता लिन र जनताको सेवामा स्थानीय तहलाई संलग्न गराउन आफूले जितेका स्थानीय तहका प्रमुखको भेला पनि गर्न लागेको छ ।
नेपाली कांग्रेसले भदौ दोस्रो साता स्थानीय तहमा विजयी कांग्रेसका मेयरको भेला काठमाडौंमा आयोजनाको गृहकार्य भइरहेको एक नेताले बताए ।
महामन्त्री डा।शशांक कोइरालाले शनिबार विराटनगरमा पार्टी विजयी भएका स्थानीय तहमा कर नबढ्ने बताएका थिए । उनले कांग्रेसले जितेका स्थानीय तहमा कर नबढ्ने र बढेको भए फिर्ता हुने जानकारी दिएका छन् ।
भदौ १२, १३ र १४ गते काठमाडौंमा नगरपालिका महासंघको भेला हुन लागेको मौका छोपेर कांग्रेसले आफ्नो पार्टीबाट विजयी मेयरसँग छलफल गर्ने तयारी गरेको छ ।
काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिकासहित कांग्रेसले जितेका अन्य स्थानीय तहमा समेत कर वृद्धि नगरी कांग्रेसले अन्य स्थानीय तहमा गरिएको कर वृद्धिको विरोध गर्ने भएको छ ।
धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर ओडले पनि कांग्रेस विजयी स्थानीय तहमा कर नबढ्ने जानकारी दिएका छन् ।







