नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि भारतको भ्रमणका लागि नयाँ दिल्ली गएका छन् ।
कांग्रेसको कार्यबाहक सभापति समेत रहेका निधि शुक्रबार दिल्ली प्रस्थान गरेका हुन् । सभापति देउवाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिए उपचार गर्न सिङ्गापुर गएका थिए ।
तर, निधिले आफ्नो जिम्मेवारी भुलेर कसैलाई पनि कार्यबाहकको जिम्मेवारी नदिइ दिल्ली गएपछि कांग्रेसका नेताहरू रिसाएका छन् । देउवा स्वदेशमा नरहेका बेला निधिले कांग्रेसको बागडोर अलपत्र पारेर दिल्ली गएको भन्दै महामन्त्री पूर्णबहादुर खड्का र देउवा गुटका नेता बालकृष्ण खाँडसहितका आफ्नै सहयोगी नेताहरू समेत रिसाएका छन् ।
निधिले कार्यबाहक सभापतिको जिम्मेवारी कसलाई दिएका हुन् पार्टी मुख्यालयलाई जानकारी नै छैन । भारतीय पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको निधन भएपछि नेपाली कांग्रेसको तर्फबाट श्रद्धाञ्जलि दिन निधि दिल्ली गएको बताइएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको समूहले पनि निधिको कार्यशैलीको विरोध गरेको छ । उता, सभापति देउवा झण्डै दुई हप्ता उपचार गरेर सिङ्गापुरबाट स्वदेश फिर्ता हुँदै छन् ।mediadabali.com







