सर्वाेच्च अदालतबाट रिहा भएर पुन प्रहरीकाे पक्राउमा परेका नेकपाका प्रवक्ता प्रकाण्डलाई गैर न्यायिक तरिकाले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।

मानव अधिकार अायाेगकाे गाडीबाट पक्राउ परेका प्रकाण्डलार्इ उनका भाई विरेन्द्र विकले भाद्र ३ गते आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा नेपाल सरकार, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी परिसर टेकु काठमाडौं, महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख, महानगरीय प्रहरी वृत्त सिंहदरबार काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार काठमाडौंका प्रमुख, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुखलाई विपक्षी बनाइएको छ ।

यस अघि पनि गैरकानूनी रुपमा पक्राउ गरी प्रहरी हिरासतमा राखेको भन्दै साउन २७ गते प्रकाण्डका छोरा नरेन्द्र विकले सर्वोच्चमा रिट दायर  गरेका थिए । उक्त रिट उपर सुनुवाई गर्दै शुक्रबार सर्वोच्चले रिहाईको आदेश दिएको थियो ।

तर प्रकाण्डलाई सोही बेलुका अबेर सर्वोच्च अदालत परिसरबाटै प्रहरीले बाटो छेकेर पक्राउ गरेको थियो । राष्ट्रिय मानवअधिकार आयोगको गाडिमा बसेका प्रकाण्डलाई गाडिबाटै पक्राउ गरी राती नै काभ्रेको धुलिखेल लगिएको थियो ।

यता नेकपाका केन्द्रीय सदस्य आजाद केसी भने हिरासत मुक्त भएका छन् । केही दिन पहिले पक्राउ परेका केसी आइतबार भक्तपुर जिल्ला अदालतको आदेशमा केसी रिहा भएका हुन् ।

अदालतमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोख्रेल, नारायण तिवारी र कृष्ण अधिकारीले बहस गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार