तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा भएको सशस्त्र युद्धको सम्झना ताजै रहेको बेला फेरि अर्काे इतिहास रच्ने कुरा गरिएको छ ।

हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष रहेका प्रचण्डले आफू उमेरको उत्तरार्धमा आइपुगेको बेला अझै केही गर्ने महत्वकांक्षा र १० वर्षभित्र अर्को इतिहास कायम राख्ने इच्छा रहेको बताएका छन् ।

काठमाडौंमा आईतबार उपन्यासको विमोचन गर्दै प्रचण्डले राजनीति गर्दा नेतृत्व आफैले गर्नुपर्ला भन्ने कहिल्यै नसोचेको बताए । ‘आफै नमरी स्वर्ग देखिँदैन भन्ने ठाउँमा पुगियो,’ दाहालले भने, ‘जनयुद्ध हुँदै यहाँसम्म आइपुगियो ।’

पुष्पकमल दाहालले आफू सोचेभन्दा विल्कुल फरक ठाउँमा आइपुगेको बताए । आफ्नो व्यक्तिगत जीवन, जनयुद्ध र अहिले पार्टी एकतासम्म आइपुग्दा सोचेकोभन्दा फरक ठाउँमा आएको महसुस भएको उनले बताए ।

पृथ्वी नारायण शाहपछि जनयुद्ध ठूलो लडाइ भएको उल्लेख गर्दै त्यसलाई शान्तिमा रुपान्तरण गर्ने, संविधान बनाउने, कार्यान्वयन गर्ने र अहिले पार्टी एकता गर्दै नयाँ ठाउँमा आइपुगिएको उनले बताए । देशको लागि सामान्य मान्छेले भन्दा फरक गर्ने महत्वकांक्षाले आफूलाई यहाँसम्म ल्याएको उनले बताए ।

काममा कहिलेकाहीँ अस्थिरता देखिएपनि महत्वकांक्षामा स्थिरता रहेको उनले बताए । आफ्नो अस्थिरता र गतिशिलताको मूल्यांकन गर्ने जिम्मा इतिहास र जनताको भएको उनले बताए ।

स्कूल पढ्ने समयमा आफ्नो पाइलट र इन्जिनियर बन्ने इच्छा भएपनि एसएलसीपछि पाइलट बन्ने इच्छाका साथ विज्ञान पढेको समेत उनले बताए । ‘आइएस्सीपछि फेरि उद्देश्य फेरियो, आर्मी बन्ने इच्छा आयो,’ उनले भने, ‘त्यसको तयारीको लागि तालिम पनि गरियो तर राजनीतिमा मन गयो कृषि पढियो ।’

आफ्नो विगत सम्झिँदै इतिहास रच्ने कुरा गर्दा प्रचण्ड फेरि के गर्न खोज्दैछन् भन्ने प्रश्न जन्मिएको छ । प्रचण्डले कार्यकारी राष्ट्रपति बन्ने सपना भित्रभित्रै पालेपनि उनले त्यसलाई खुलस्त भन्न सकेनन् ।

ओलीसँग पार्टी एकता गरेपछि आफ्नो राष्ट्रपति बन्ने इच्छा पूरा नहुने पो हो कि भन्ने चिन्ताले प्रचण्ड खुलेर बोल्न छाडेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार