सरकारले १८ वर्षभन्दा कम उमेरका कैदीबन्दीलाई अब बाल सुधारगृहमा सार्ने भएको छ । १ भदौबाट लागू नयाँ ऐनले १८ वर्षभन्दा कम उमेरकालाई नाबालक मानेपछि उनीहरूलाई सुधारगृहमा सारिने भएको हो ।
मुलुकी अपराधसंहिता ऐन, ०७४ को परिभाषा २ को खण्ड ‘ङ’ ले १८ वर्ष उमेर पूरा नगरेकालाई नाबालक मानेको छ । कानुनतः नाबालकलाई अन्य कैदीबन्दीसरह जेलमा राखिनुहुँदैन । उनीहरूलाई छुट्टै सुधार गृहमा राखिनुपर्छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले १८ वर्षभन्दा कम उमेरका कैदीबन्दीलाई सुधार गृहमा राख्न मातहतका निकायमा निर्देशन दिइसकिएको बताए ।
उनले भने, ‘नयाँ कानुनले १८ वर्षभन्दा कम उमेरकालाई नाबालक मानेको छ । कानुनतः नाबालकलाई अन्य कैदीबन्दीसरह जेलमा राखिनुहुँदैन । हामीले मातहतका निकायमा निर्देशन दिइसकेका छौँ । उनीहरू सबैलाई अब बाल सुधार गृहमा राखिनेछ ।’
विभागका अनुसार ७४ जेलमा १६ देखि १८ वर्षसम्मका २९७ कैदीबन्दी छन् । यसअघि मुलुकी ऐनले १६ वर्षभन्दा कम उमेरकालाई मात्रै नाबालक मानेका कारण १६ वर्षदेखि माथिकालाई अन्य कैदीबन्दीसरह जेलमा राखिएको थियो ।
विभागका महानिर्देशक मैनालीका अनुसार १६ देखि १८ वर्ष उमेरका कैदीबन्दीका निम्ति वीरगञ्ज, हेटौँडा, भैरहवा, नेपालगन्ज र डोटीमा बाल सुधार गृह बनिसकेका छन् । यसअघि विराटनगर, साराङकोट र भक्तपुरमा मात्रै बाल सुधार गृह थिए ।
मैनालीले भने, ‘प्रत्येक प्रदेशमा कम्तीमा एउटा बाल सुधार गृह हुनुपर्ने सरकारको योजना हो । यसैअनुसार सुधार गृह ३ बाट बढाएर ८ पु-याइएको छ । अब सबैलाई सोही सुधार गृहमा राखिनेछ ।’
विभागका अनुसार मोरङको विराटनगरस्थित सुधार गृहमा ६९ कैन्दीबन्दी छन् । त्यस्तै, कास्कीको साराङकोटमा १५१ र भक्तपुरको सानोठिमीमा ४७ कैदीबन्दी छन् । उनीहरू सबै १४ देखि १६ वर्ष उमेर समूहका छन् ।







