वेलिङ्टन ४, भदौ । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छन् ।
साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी थिइन ।
“मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उनले लेखेकी छन् ।ए
गेन्टर अहिले ४२ हप्ताकी गर्भवती छिन् । उनले महिला मन्त्रीको कार्यभार मात्र नभई यातायात मन्त्रालयको समेत कार्यभार सम्हाली रहेकी छन् । उनी दिगो यात्राका अभियन्ता पनि हुन् ।
उनको ग्रीन पार्टीकी एकजना प्रवक्ताले सोमबार साँझसम्म उनको बच्चा नजन्मिएको, तर उनी प्रतिक्षारत भएको जनाएकी छन्। यो घटना गत जुनमा मात्र न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन प्रसूति बिदापछि नियमित काममा फर्केको केही हप्तापछि नै भएको छ ।
गत वर्ष निर्वाचित आर्डेन पदमै रहँदा बच्चा जन्माउने विश्वमै दोस्रो वरिष्ठ कार्यकारी भएकी थिइन्। विगतमा सन् १९९० मा पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोले पदमै रहँदा बच्चा जन्माएकी थिइन् ।







