काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल काँग्रेसभित्रकै प्रतिपक्ष नेता मानिन्छन् । काँग्रेस रूपान्तरण र गतिशील बन्नुपर्छ भनेर पार्टीभित्रै सङ्घर्ष चलाउने मध्येका एक नेता पौडेल काँग्रेसलाई रूपान्तरण गरेरै छोड्ने दाबी गर्छन् । भन्छन्– ‘सभापति शेरबहादुर देउवाकै कारण पार्टीमा गुटबन्दी मौलाएको छ ।’ प्रस्तुत छ, उनै नेता पौडेलसँग काँग्रेसको आन्तरिक राजनीति, सरकारबारे काँग्रेसको रणनीतिलगायत समसामयिक विषयमा रातोपाटीका लागि फणिन्द्र नेपालले गरेको वार्तालाप
अहिले काँग्रेस खासमा के गर्दैछ ?
तपाईंले खोजेजस्तो प्रश्नको जवाफ दिनेगरी अहिले काँग्रेस धेरै सक्रिय र गतिशील छ भन्ने अवस्था छैन । वर्षाको समय पनि भएकाले त्यस्तो भएको हो भन्नुपर्ने वा ‘एस्क्यिुज’ गर्नुपर्ने अवस्था छ ।
केही लिमिट र नियमित कामहरू भइरहेका होलान् त्योभन्दा विशेष काम काँग्रेसले गर्न सकेको छैन ।
काँग्रेसलाई चलायमान र गतिशील बनाउने भनेर तपाईंहरूले थालेको अभियान तुहिएको हो ?
हामीले थालेको अभियान अहिले पनि जारी छ । तर हामीलाई जहिले पनि एउटै कुरा गरिरहन मन छैन । हाम्रो स्पिडसँग अलिकति अरूले खोजेको काँग्रेसको गति (जस्तो बनाउनुपर्ने हो त्यस्तो बनाउन) नेतृत्वले सकिरहेको छैन वा चाहिरहेको छैन । काँग्रेस यो बेलामा अत्यन्त धेरै गतिशील हुनुपर्ने हो । सरकारमा नभएको बेलामा नेताहरू पनि पूरै फुर्सदिला नै छन् । यस्तो बेलामा पार्टीका गतिविधिमा केन्द्रित हुनुपर्ने हो तर त्यो हुन सकेको छैन । यसमा नेतृत्व नै उदाशीन छ । अहिले त माहासमिति बैठकप्रति पनि आशङ्का गर्नुपर्ने बेला हुन थालेको छ । केन्द्रीय कार्यसमितिले भदौ मसान्तभित्रमा महासमिति बैठक गर्ने भनेर निर्णय गरेको छ । आफैले गरेका निर्णयहरू कार्यान्वयन गर्ने कुरामा पनि यो ढङ्गको उदाशीनता देखिने हो भने पार्टी गतिशील हुन सक्दैन ।
त्यसले गर्दा नेतृत्वप्रति बढी टीकाटिप्पणी हुने, आलोचना हुने र नेतृतव हुँदै पार्टी नै कमजोर हुने अवस्था आउँछ ।
यो कुरा हाम्रो नेतृत्वले किन बुझिरहेको छैन ? हामी आफैले पनि बुझ्न सकेका छैनौँ ।
नेतृत्वको खुबै आलोचना गर्दै आउनुभएको छ । यदि नेतृत्व यही ढङ्गले चल्ने हो भने काँग्रेस इतिहासमा सीमित बन्छ भन्ने निष्कर्ष हो ?
इतिहासमै सीमित हुन त हामी दिँदैनौँ । आम काँग्रेसका कार्यकर्ता चुप लागेर बस्दैनन् । अहिले असन्तुष्टि यसकारणले बढेको छ कि कामहरू समयमा नहुने, नेतृत्व जति सक्दो ढिलो गर्न पाए हुन्थ्यो भन्ने चाहाना राख्ने, गतिशीलता नै नदेखाउने, यति धेरै मुद्दामा सापेक्षातमा नहिँड्ने, समयसँगै काँग्रेसलाई रूपान्तरण गर्न नरुचाउने भएकाले नै हो । गर्नुपर्ने थुप्रै कामहरू गर्नेतर्फ जाँगर नदेखाउने हो भने पार्टी समाप्त हुने होइन, पार्टीको नेतृत्व परिवर्तन हुने निश्चित छ ।
तपाईंहरू असन्तुष्टि पोख्दै जाने, नेतृत्वले कहिल्यै नसुन्ने । परिवर्तन नै हुन नचाहाने हो भने त तपाईंहरू जस्ता नेताकार्यकर्ताको आवाजको के अर्थ रहन्छ त ?
यही अवस्था हुने हो भने नेतृत्व परिवर्तनको विकल्प पहिलो नम्बरमा पर्छ । परिवर्तनको विकल्पसँग हामीले के सोच्नुपर्ने अर्को कुरा हो–खाली व्यक्ति वा पात्र परिवर्तन गरेर मात्रै असन्तुष्टि सम्बोधन हुन सक्दैन । हामीले दृष्टिकोणहरू दिन सक्नुपर्छ । परिवर्तन भइसकेपछि कार्यशैली कस्तो हुने, हामीभित्र रूपान्तरण केके हुने, एजेन्डा, नीतिगत विषय, सैद्धान्तिक विषय समयसापेक्ष कसरी बनाउने ? भन्ने विषयमा खाकासहित प्रष्ट ढङ्गले भन्न सक्नुपर्छ, दिन सक्नुपर्छ । उस्तै त हो नि भन्ने स्थिति आयो भने फेरि रूपान्तरण वा परिवर्तनको अर्थ रहँदैन ।
काँग्रेसभित्रै प्रतिपक्षको भूमिकामा तपाईं लगायतका केही नेता हुनुहुन्छ । यदि तपाईंहरूको आवाज सम्बोधन हुँदैन भने तपाईंहरूको आफ्नो विकल्प चाहिँ के हुनसक्छ ?
पहिला काँग्रेसमा हामीले बेलेजति पनि कसैले बोल्दैनथिए । बोल्ने क्रम सुरु भएको छ । पार्टीभित्रका आन्तरिक कमी कमजोरीलाई उठाउने र आलोचना गर्ने विषयमा पहिले पहिलेभन्दा धेरै प्रगति भइरहेको छ । यो महशुस भएको विषय हो । केन्द्र मात्रै नभएर तल्ला तहहरूमा पनि यस्ता छलफल हुन थालेका छन् । यसले के देखाउँछ भने काँग्रेस यथास्थितिमै रहन्छ या अघि बढ्छ भन्ने कुनै सम्भावना छैन । यदि त्यसो भयो भने नयाँ उचाइमा पुग्न सक्दैन भन्ने कुरामा सबैले स्वीकार्ने अवस्था आएको छ । यो अवस्थाले काँग्रेसलाई नयाँ उचाइमा पुर्याउन योजनाबद्ध ढङ्गले परिवर्तनका मुद्दालाई सम्बोधन गर्दै गयो भने हामीले पार्टीलाई रूपान्तरण गर्छौं, आत्तिनुपर्ने अवस्था आउँदैन ।
नेपालमा परिवर्तनको, रूपान्तरणको र अग्रगमनको बारेमा सबैभन्दा पहिला कुरा गर्ने पार्टी काँग्रेस नै हो । तर त्यो बीपी कोइरालाका पालामा यी विषय जति धारिला थिए, अहिले छैनन् त्यो हामी पनि स्वीकार्छौं । यी समग्र विषयलाई जोडेर काँग्रेसलाई लिएर जान जुन कुरा गरेका छौँ त्यो कुरा काँग्रेसको तल्लो तहसम्म पनि पुगेको छ । नेतृत्वकै आलोचनाको विषय पनि प्रष्ट ढङ्गले आफ्नै फोरमहरूमा गर्नसक्ने वातावरण बनेको छ ।
मास बेस पार्टी काँग्रेस तर त्यही मासले भनेको नेतृत्वले नसुन्ने हो भने के अर्थ रहन्छ ?
यसमा नेतृत्व परिवर्तनसँगै जोडेर यो प्रश्न सोधेको हो भने यसको विधि र प्रक्रिया छ । त्यो अनुसार नै अघि बढ्नुपर्छ । त्यस्तो समय हामीसँग आइसकेको पनि छैन । अधिवेशन आउन पनि अझै एक डेढ वर्ष बाँकी नै छ । दोस्रो कुरा हाम्रो राजनीति आदेश पालना गर्ने संस्कृतिबाट सुरु भएको हो । त्यसको प्रभाव काँग्रेसभित्र पनि नहुने कुरा भएन । नेपालमा परिवर्तनको, रूपान्तरणको र अग्रगमनको बारेमा सबैभन्दा पहिला कुरा गर्ने पार्टी काँग्रेस नै हो । तर त्यो बीपी कोइरालाका पालामा यी विषय जति धारिला थिए, अहिले छैनन् त्यो हामी पनि स्वीकार्छौं । यी समग्र विषयलाई जोडेर काँग्रेसलाई लिएर जान जुन कुरा गरेका छौँ त्यो कुरा काँग्रेसको तल्लो तहसम्म पनि पुगेको छ । नेतृत्वकै आलोचनाको विषय पनि प्रष्ट ढङ्गले आफ्नै फोरमहरूमा गर्नसक्ने वातावरण बनेको छ ।







