साउदी नेतृत्वको गठबन्धनले यसअघि यमनमा प्रहार गरेको बम त्यहाँको एक स्कुलबसमा बिस्फोटन हुँदा ५१ मध्ये ४० बालबालिकाले ज्यान गुमाएका थिए भने घाइते हुने ७९ मा पनि ५६ बालबालिका रहेको जानकारी प्राप्त भएको छ । सीएननका अनुसार यसै मुद्दामा गरिएको अनुसन्धानपछि २२७ किलोको उक्त एमके ८२ लेजर बम अमेरिकाको सबैभन्दा ठूलो हतियार निर्माण कम्पनी लकहिड मार्टिनले बनाएको पत्ता लगाइएको हो ।
यसअघि २०१६ को अक्टोबरमा प्रहार गरिएको बम पनि यसैसँग मिल्दोजुल्दो रहेको पत्ता लागेको छ जसले १५५ को ज्यान लिएको थियो भने सयौँ घाइते भएका थिए । त्यसबेला साउदी गठबन्धनले सो दुर्घटना गलत जानकारीका कारण भएको बताउँदै गैरजिम्मेवारीपूर्ण व्यवहार स्वीकार गरेको थियो ।
त्यही वर्ष मार्चमा हमला गरिएको बम पनि हतियार कारोबारको समयमा अमेरिकाले नै पठाएको एमके ८४ रहेको पाइएको थियो । त्यस हमला पछि तत्कालिन राष्ट्रपति बाराक ओबामाले मानव अधिकार सम्बन्धी विवाद उत्पन्न हुने डरका कारण साउदीसँगको हतियार कारोबारलाई निषेध गरिदिएका थिए । तर ट्रम्प प्रशासनको आगमनसँगै यो प्रतिबन्ध हटाइएको हो ।
ad
यस्ता भयानक दुर्घटनामा अमेरिकी संलग्नबारे पत्ता लागेपछि अहिले अमेरिकी प्रशासनको नैतिकतामाथि ठूलो प्रश्न खडा भएको छ । तर अमेरिकाले भने उक्त गठबन्धनले हमला गर्न लक्षित गर्ने स्थानबारे आफूले कुनै निर्णय लिने नगरेको भनि स्पष्टिकरण दिइरहेको छ ।
तरपनि अमेरिकाले उक्त संगठनलाई हतियारको कारोबारमा अरबौँ डलर सहयोग गर्ने गरेको पाइन्छ । यति मात्र नभएर साउदीको लडाकू विमानमा भरिने इन्धन र प्राविधिक सहयोग पनि अमेरिकाले ने दिलाउने गरेको बताइएको छ ।
अमेरिकी रक्षा सचिव जेम्स म्याटिसले भने, ‘हो हामी उनीहरुलाई कहाँ लक्षित गर्ने भन्ने योजना बनाउन मद्दत गर्छौँ तर हामी जथाभावि प्रहार गर्दैनौँ ।’







