काठमाडौं । कुनै समय नेपाली कांग्रेसमा कोईराला परिवारको ठुलै दखल थियो । जुनबेला विपी कोइराला नेतृत्वमा थिए, पछि गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्दासम्म कांग्रेस भनेकै काेइरालाहरु हुन् जस्ताे भान हुन्थ्याे । तर अहिलेको अवस्था अर्कै छ, कांग्रेस कोईरालाहरुको नेतृत्वमा भएको मार्गचित्रबाटै बाहिरिइसकेको छ ।
पछिल्लाे समय कांग्रेसकाे नेतृत्वमा सभापति शेरबहादुर देउवा अाएदेखि नै पार्टीभित्र असन्ताेष चुलिँदै गएकाे छ । यसै क्रममा हाल पार्टीमा राम्रै स्थान ओगटिरहेका कांग्रेसका कोइरालाहरु सभापति देउवालार्इ एक्ल्याउन नयाँ गठबन्धन बनाउन कस्सिएका छन् । पछिल्ला केही महिनायता शशांक, शेखर र सुजाता निरन्तर भेटघाटमा रहेकाे कांग्रेस निकट स्राेतले जनाएकाे छ । उनीहरूले आपसी रुपमा एक हुँदै १४औँ महाधिवेशनको तयारी अघि बढाएका छन् । अागामी महाधिवेशनबाट अाफूहरु पुनः नेतृत्वमा पुग्ने काेइराला खलककाे दाउ रहेकाे बुझ्न गाह्राे छैन ।
अझ यो गठबन्धनमा सम्भव भएसम्म सबैलाई समेट्ने र देउवालाई एक्ल्याउने उनीहरूको नीति छ । कांग्रेसका भ्रातृ संगठनका सबैजसो पछिल्लो अधिवेशनले देउवालाई हतोत्साही बनाएको छ । शिक्षक संघ, ट्रेड युनियन, कानुन व्यवसायीहरूको संस्थाको निर्वाचनमा देउवा पक्षले पराजय भोगेको छ ।
गत सालकाे अाम निर्वाचनमा पराजयको अपजस सबैभन्दा बढी सभापति देउवालाई नै छ । तर, आत्मसमीक्षा र कार्यक्रम केही छैनन् । त्यसैले देउवापक्ष स्वतः कमजोर हुँदै गएकाे उनीहरुकाे बुझाइ छ । त्यसमा पनि प्रकाशमानदेखि सिटौलासम्म र केबी गुरुङदेखि गच्छदारसम्मलाई कोइराला परिवारले समेट्न सके देउवा स्वत: एक्लिँदै जाने काेइराला परिवारहकाे बुझाइ छ ।







