काठमाडौंको बबरमहलमा नौलो अपराधिक घटना भएको छ । त्यहाँ आफ्नै निजी निवासमा भएको बेला पूर्वराजदूत केशव झाको हत्या भएको छ । श्रीमती र सुरक्षा गार्ड समेत घरमै भएका बेला राजदुत झा मृत भेटिए । उनको मृत्यु नभएर हत्या भएको प्रहरीले दावी गरेको छ । हत्या भएको आशंका भएपछि प्रहरीले उनको शव पोष्टमार्टमका लागि पठाएको छ । उक्त प्रकरणमा सोधपुछका लागि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
घटनाको अनुसन्धानका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको निवासमा कार्यरत् भान्छे सानु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको हो । ‘केही सोधपुछ गर्नु पर्ने भएकाले हामीले ल्याएका हौं’, महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उक्त पक्राउ बारे पुष्टि गरेका छन् ।
झाको पारिवारिक स्रोतका अनुसार तामाङ ७ वर्षदेखि त्यहाँ कार्यरत् थिए । ‘दुई जना माली भने हप्तामा दुई–तीन दिन सरसफाइका लागि आउने गरेका थिए’, स्रोतले भन्यो, ‘तामाङले पालेको रुपमा पनि काम गर्थें ।’ झाको घाँटी र टाउकोमा चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । झाका छोरा–बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि नेपाल बाहिरै छिन् । उनीहरु दुवै चिकित्सक हुन् । परराष्ट्र सेवामा ३४ वर्ष विताएका झा फ्रान्सका लागि नेपालका पूर्व राजदूत हुन् । उनकी श्रीमती र गार्ड सुरक्षा पाले त्योबेला घरमै रहेको देखिएको छ ।







