विभिन्न माग सहित संविधान संशोधनको मुद्दा लिएर कहिले सडक त कहिले सदनमा कुर्लिरहेको राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न सरकारले फेरि भाका सारेको छ ।
राजपामा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे चलेको बहसलाई थामथुम पार्न ने क पाका नेताहरु आशवासन दिएर दशैपछिसम्म टार्ने मनस्थितिमा रहेको ने क पा निकट स्रोतले बताएको छ ।
तर, राजपा नेपालको माग सम्बोधन गर्न सरकार लचक भएको सन्देश दिनलाई ने क पाले दशैंसम्ममा सम्पूर्ण माग पूरा गर्ने आश्वासन पनि दिएको छ । लामो समयपछि गत साता बालुवाटारमा सरकार र राजपाबीच संविधान संशोधनलगायतका विषयमा छलफल भएको थियो ।
बालुवाटारमा चलेको छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा आेलीले सरकार राजपा नेपालको मागप्रति गम्भीर भएको भन्दै राजपा नेपालका नेताहरुलाई फकाएर पठाएको बुझिएको छ । तर, राजपा नेपाल भने पर्ख र हेरको स्थितिमा रहेपनि तत्कालै सरकारलाई दिएको समर्थन फिर्ता नलिने भन्दै बालुवाटारबाट निस्किएको छ ।
मधेस आन्दोलनमा मारिएका नेता कार्यकतालाई सहिद घोषणा, थुनामा रहेकाको रिहा, कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका सांसद रेशम चौधरीलाई सपथ ग्रहण गराउनुपर्ने सरकारसँग राजपाको माग छ ।
यस्तै, राजपा नेपालका नेताहरु निरन्तर संवादमा लागिरहेको भनेपनि सरकार गठन भएको यतिसमय भइसक्दा पनि माग सम्बोदन नहुनुले कार्यकर्ताहरु सरकारसंग निर्णायक वार्ता गरेर छिट्टै निष्कर्षमा पुग्नु पर्ने कुरामा जोड दिन थालेका छन् ।
राजपा सह–महामन्त्री डा. सुरेन्द्र झाका अनुसार दशैंसम्म सरकारले आफ्नो ,माग पुरा नगरे जनताकासामू जाने र सरकारलाई दिएको समर्थन फिर्ता स्वतः हुने जनाए । त्यसपछि क्रमशः हाम्रो आन्दोलनका कार्यक्रम निरन्तर रुपमा जारी हुन्छ,” उनले भने ।
प्रदेश २ को सम्बोधनमा बोल्दै प्रधानमन्त्रीले संविधान संशोधन हुने र जनताको भावनालाई कदर गरिने बताएको स्मरण गर्दै झाले अहिले नै यसै भन्न नसकिने जनाए ।
बालुवाटार स्रोतका अनुसार पटक पटकको वार्ता र संवादपछि राजपाको मागका बारेमा अध्ययन गरेर निष्कर्ष निकाल्न प्रधामन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालको नेतृत्वमा काम भइरहेको छ ।







