नेकपा भित्र भयो भाँडभैलो, ओली प्रचण्डको लडाइ प्रचण्डलाई भयो मुस्किल ! हेर्नुहोस कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई अप्ठ्यारो पार्ने गरी काम गरेर सर्वत्र आलोचना भइरहेको छ ।
चुनावका बेला गरेका प्रतिवद्धता पूरा नगरेर सरकारमाथि जनविश्वास घटेको छ । प्रधानमन्त्री ओली चौतर्फी घेराबन्दीमा परेर आत्तिएका छन् । मन्त्रीहरूलाई झपार्ने र अविश्वास गर्ने प्रवृत्तिका कारण मन्त्रीसँगको सम्बन्ध पनि बिग्रिएको छ ।
सरकार सञ्चालनमा असफल भइरहेका प्रधानमन्त्री ओलीको नेतृत्व पार्टी सञ्चालनमा पनि भाँडभैलो देखिएको छ । चुनावअघि नै पार्टी एकीकरण गर्ने भनेर एक भएका तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण टुंग्याउन मुस्किल परिरहेको छ ।
ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चलिरहेको अन्तद्र्वन्द्वले पार्टी एकतालाई लम्याउँदै गएको छ । पार्टी एकीकरणका बेला दुवै पक्षले एकअर्कालाई कमजोर पार्ने चाल गरिरहेकाले ओलीले प्रचण्डलाई मनाउन सकिरहेका छैनन् । जसले गर्दा एकीकरणमा ढिलाइ भइरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताका लागि गठन भएका कार्यदललाई प्रतिवेदन बुझाउन अन्तिम पटक भदौ ७ गतेसम्मको म्याद दिएको छ । कार्यदलमा रहेका सदस्यले ओली र प्रचण्डको मुख ताक्ने तथा दुवै शीर्षले आ–आफ्नै चालबाजी र रणनीतिमा भएका कारण कार्यदलले काम गर्न सकिरहेको छैन ।
केन्द्रमा पार्टी एकीकरण भएजस्तो भएपनि दुवै नेताले अझै पनि पूर्वएमाले र पूर्वमाओवादीले काखी च्याप्ने प्रवृत्ति देखाएका छन् । केन्द्रीय कमिटी गठनमै रडाको मच्चिएको कम्युनिस्ट पार्टीमा प्रदेश, जिल्ला र विभिन्न जनवर्गीय संगठनको एकीकरण महाभारतझै भएको छ ।
सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले कार्यदललाई भदौ ७ गतेसम्म प्रतिवेदन बुझाउन समय दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
‘कार्यदलहरूलाई रिपोर्ट प्रस्तुत गर्नका लागि साउन मसान्तसम्मको अवधि दिएका थियौं । अहिलेसम्म कतिपय कार्यदलले रिपोर्ट नदिएकाले अन्तिम पटक भदौ ७ गतेसम्म म्याद दिएका छौं,’ उनले भने ‘निर्णय नभएर जुन अवस्थामा छ, त्यही अवस्थामा भदौ ७ गतेसम्म बुझाउनुपर्ने निर्णय भएको छ ।’
कार्यदलमा हरेका पूर्वएमाले र पूर्वमाओवादीका सदस्यले ओली र प्रचण्डका छुट्टाछुट्टै अडानलाई मिलाउन नसक्दा प्रतिवेदन बुझाउन ढिलाइ भइरहेको छ ।
ओली र प्रचण्ड सामुन्ने हुँदा मिलेजस्ता देखिएपनि कार्यदलका सदस्यमार्फत् दुवै नेताले एकअर्कालाई निषेध गर्ने रणनीति लागू गर्न खोजिरहेका छन् । कार्यदलमाथि काम नगरेको आरोप लागेपनि उनीहरू ओली र प्रचण्डको लडाइको चपेटामा परेका छन् ।
पार्टी एकताका लागि प्रदेश स्तरमा गठन भएका कार्यदलको प्रतिवेदन पनि आएको छैन । ‘रिपोर्ट १ र २ बाट आएकै छैन । अरु प्रदेशबाट सामान्यतया आएको छ, तर जिल्ला कमिटीबाट सूची आएको छैन,’ प्रवक्ता श्रेष्ठले भने । नेकपाको सचिवालय बैठकले भदौ ८ र ९ गते बस्ने भनेको स्थायी कमिटीको बैठक पनि १९ र २० गतेका लागि सारेको छ ।
ओली र प्रचण्डको लडाइले पार्टी अनिर्णित हुँदै गएको छ । दुवै नेताले पूर्वएमाले र पूर्वमाओवादी समूहलाई जब्बर बनाइराख्न आ–आफ्ना रणनीति बनाइरहेका छन् ।
पार्टीलाई लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्ने भनिएपनि टिके प्रथाबाट प्रदेश र जिल्लामा नेता छान्नुपर्ने भएकाले कम्युनिस्ट एकआपसमै लड्ने देखिएको छ ।
ओलीले प्रचण्डलाई एमालेमै मिसाएझै व्यवहार गरिरहेका कारण प्रचण्ड बिच्किएका छन् । उनले ओलीलाई देखाइदिने रणनीति बनाउँदै वामदेव गौतम र झलनाथ खनाललाई साथमा लिन खोजेका छन् ।
प्रचण्ड खेमामा सुरक्षित अवस्था देखी नसकेका गौतम र खनाल पर्ख र हेरको अवस्थामा छन् । ओलीबाट फाइदा लिन खोजिरहेका पूर्वएमाले गौतम र खनाललाई ओलीले पनि महत्व नदिएकाले अन्ततः दुवैले प्रचण्डकै शरणमा जानुपर्ने देखिन्छ ।
पूर्वएमाले ओली र माधवकुमार नेपाल मिलेर प्रचण्डलाई पार्टीमा कमजोर बनाउने रणनीति बनाइरहेका छन् । जसको शिकार बनेको छ पार्टी एकीकरण प्रक्रिया ।
पार्टी एकीकरण ढिलाइ हुँदै जानुले कम्युनिस्ट मिल्ने प्रक्रिया भाँडिन सक्ने टिप्पणी हुन थालेको छ । कम्युनिस्टले जुट्नेभन्दा पनि फुट्ने प्रवृत्ति विगतदेखि देखिँदै आएको छ ।







