काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले कम्युनिष्ट सरकार दुई तिहाइ बहुमतको दम्भमा सर्वसाधारण जनताको ढाड सेकिने गरी दैनिक जथाभावी कर संकलन रोक्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘करप्रसाद’ को संज्ञा दिएका छन् ।
तीन तहका सरकारले तीन तहमै नागरिकबाट कर संकलन गरेको, सेवा सुविधा नदिएको भन्दै संसदको शुन्य समयमा बोलेका सांसद सिंहले प्रधानमन्त्री खड्गप्रसाद ओली अब करप्रसाद ओली बनेको बताए ।
मकै पोल्नेलाई, ठेलागाडा चलाउनेलाई, खोला तर्नेलाईसमेत सरकारले कर लगाउन थालेको भन्दै उनले जथाभावी कर संकलन गर्न थालेपछि लोकतन्त्रप्रति नागरिकहरुको वितृष्णा जाग्न थालेको बताए । उनले प्रधानमन्त्री ओलीलाई जनताले नै सामाजिक संजालमार्फत् करप्रसाद ओली बनाईदिएको टिप्पणी गरे ।
उनले करमा एकरुपता ल्याउन, सबै सरकारले मनोमानी ढंगले कर संकलन नगर्ने वातावरण बनाउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए ।







