काठमाडौं, ५ भदौ । रन सुजका बजार प्रतिनिधि प्रकाश अधिकारीले चेकको दुरुपयोग गर्दै लेखिएको भन्दा १ लाख बढी रकम बैंकबाट निकालेका छन् । अधिकारीले मोरङ पथरी १ मा जुत्ता पसल सञ्चालन गर्दै आएका सुमन श्रेष्ठले काटेको चेकमा १ लाख रकम थप गरेका हुन् ।
श्रीकृष्ण सुज सेन्टरका सञ्चालक सुमन श्रेष्ठले रन सुजलाई १ लाख २५ हजार तिर्नुपर्ने थियो । उनले रन सुजका बजार प्रतिनिधि अधिकारीको नाममा असार २६ गते एनआईसी एसिया बैंकको १० हजारको चेक काटेर दिएका थिए । तर उनको खाताबाट १ लाख १० हजार निकालिएको म्यासेज उनको मोबाईलमा आयो ।
प्रकाश अधिकारी
उनले पैसा निकालिएको एनआईसी एसिया बैंकको मोरङ, उर्लाबारी शाखालाई रकम निकासा गर्ने क्रममा गल्ती भएको हुनसक्ने भन्दै ध्यानाकर्षण गराए । तर बैंकमा आफैँ गएर बुझ्दा पो थाहा भयो की चेकमा नै १ लाख १० हजार लेखिएको रहेछ । उनलाई बल्ल याद भयो, उनले चेकमा अक्षरमा रकम लेख्न भुलेका रहेछन् ।
वास्तविकता बल्ल बाहिर आयो । अधिकारीले चेकमा अक्षरमा रकम नलेखिएको कुराको फाईदा उठाउँदै अगाडि अंक १ थपेर १० हजारलाई १ लाख १० हजार बनाए, र अक्षरमा आफैँले लेखिदिए । एउटै चेकमा दुईथरी अक्षर भएको प्रस्ट देख्न सकिन्छ ।
यसरी अधिकारीले १० हजारको ठाउँमा १ लाख १० हजार लेखेर बैंकबाट पैसा निकाले । श्रेष्ठले अधिकारीलाई फोन गर्दा आफुले त्यसो नगरेको बरु श्रेष्ठलेनै गल्तीले त्यसरी चेक काटेको दावी गरे । तर चेकमा रहेको दुईथरी अक्षरले भने चेकको दुरुपयोग भएको प्रस्ट देखिएको छ । अहिले श्रेष्ठले अधिकारीको नाममा प्रहरीलाई जाहेरी समेत दिईसकेका छन् । हुन त श्रेष्ठले रन सुजलाई १ लाख २५ हजार तिर्नु नै थियो तर कसैले दिएको चेकलाई नै दुरुपयोग गरी लेखिए भन्दा बढी रकम निकाल्नेलाई कारवाही हुनुपर्ने श्रेष्ठको माग छ ।







