कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतङ्ककारी समूहले सोमबार तीन ओटा यात्रुवाहक बस अपहरण गरेका छन्। यी बसहरु अपहरणमा १५० भन्दा बढी यात्रु परेका जिल्ला गभर्नर हयातुल्ललाह आमिरीले बताएका छन्। स्थानीय समयानुसार सोमबार बिहान ४ बजे बसमा चढेका गाउँलेहरुलाई तालिबानले नियन्त्रणमा लिएको आमिरीले जानकारी दिएका छन्। अपहरणमा परेका ती यात्रुलाई सुरक्षित मुक्त गराउन सुरक्षाफौजले कारबाही सुरु गरेको छ।
अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीले तीन महिनाको सःशर्त युद्धविरामको एकतर्फी घोषणा गर्नुभएको एक दिनपछि नै यो अपहरण भएको हो। मुस्लिम समुदायको महान चाड ईदका अवसरमा राष्ट्रपति घानीले घोषणा गरेको युद्धविराम सोमबारदेखि नै लागू हुने योजना थियो। सरकारले घोषणा गरेको यस युद्धविरामका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन।







