विराटनगर – विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा निर्माण भएको वायोग्यासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

मंगलवार एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री ओलीले वायोग्यास प्लान्टबाट चुल्हो बालेर उद्घाटन गरेका हुन् । आफूले भनेझै पाइपलाइनबाट घरघरमा ग्यास पुर्याइएको कार्यक्रममा सहभागी हुँदा खुशी व्यक्त गरेका ओलीले विराटनगरबाट शुरू भएको अभियान देशैभरि नै विस्तार गरिने बताए ।

प्राकृतिक स्रोतसाधनले भरीपूर्ण देशमा प्रविधिको विकास गर्दै अघि बढ्ने हो भने करीब ९३ प्रतिशत ब्यापार घाटा घट्ने उनले स्पष्ट पारे । विराटनगरले २० प्रतिशत सस्तो ग्यास पाइपको माध्यमबाट शुरू गरेकाले सस्तो ग्यास बनाएर घरघरमा पुर्याउन सकिने रहेछ भन्ने उदाहरण पनि दिएको उनले बताए ।

‘३२ जनाले भएपनि सिलिन्डरका डल्ला चाहिँदैन भनेर मिल्काएका छन्,’ उनले भने, ‘अब ४८ जनाले पनि चाहिँदैन सिलिण्डरका डल्ला भनेर फाल्ने छन् । यो क्रमलाई हामीले निरन्तरता दिन खोजेका छौं ।’

पेट भर्नको लागि खाने हैन, स्वस्थ रहनको लागि खाने बानी गर्नुपर्ने सुझाव दिएका ओलीले भने, ‘स्वस्थ रहनको लागि आफ्नै गाउँमा उत्पादन गरेर आफ्नै ठाउँमा पूरा गर्न सक्छौ ।’

निजी क्षेत्रलाई सरकारले लगानीको वातावरण बनाएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले ४ वटा क्षेत्रमा लगानी गर्न भनिएको स्पष्ट पारे । उनले ती ४ क्षेत्रमा उत्पादन, रोजगारी, उत्पादकत्व र निर्यातको अवस्था रहेको बताए ।

तश्वीर : सामाजिक सञ्जाल फेसबुकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार