विराटनगरमा १ हप्ता यता आपराधिक गतिविधि बढेका छन् ।
हप्ता दिनमा २ वटा हत्या र एउटा हत्याको प्रयास भएको छ । गत शुक्रवार शिखा हत्या प्रकरण सेलाउन नपाउँदै १ जना सुरक्षा गार्डको हत्या भयो । सुरक्षा गार्डको हत्या भएको २ दिन बित्न नपाउँदै विराटनगरमा फेरि १ व्यक्तिले पत्नी, छोरी र सालोलाई खुकुरी प्रहार गरी हत्याको प्रयास गरेका छन् ।
विराटनगर–११ पिचडामा माइती घरमा बस्दै आएकी पुनम सहनीलाई टाउकोमा गम्भीर चोट लागेको छ । उनका पति दिलिप सहनीको खुकुरी प्रहारबाट अन्य २ जना पनि घाइते भएका छन् । ४० वर्षीय दिलिप सहनीले विराटनगर–११ स्थित ससुरालीमा बस्दै आएकी ३५ वर्षीया पत्नी पुनम सहनीको टाउकोमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

पुनमकी आमा र दिदीलाई बचाउन खोच्दा पुनकी छोरी मनिता सहनी, भाई सन्दिप सहनीको टाउको र हातमा चोक लागेको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते ३ जनाको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
सिरहाको गोलबजारमा बस्दै आएका दिलिपले मंगलबार बिहान ९ बजे विराटनगरमा आएर पुनमलाई जबर्जस्ती घर लैजान खोज्दा नमानेपछि दिलिपले खुकुरी प्रहार गरेको पुनमका आफन्तले बताएका छन् ।
दिलिपकी तेस्रो पत्नी पुनम
दिलिपकी तेस्रो पत्नी पुनम हुन् । दिलिपका २ पत्नीले छाडेर गइसकेका छन् । पुनमको पनि दिलिपसँग दोस्रो विवाह हो । पहिलो पतिको निधनपछि उनले ७ महिना अगाडि दिलिपसँग विवाह गरेकी थिइन् ।
पुनमका पहिलो पतिबाट ४ छोरी र २ छोरा छन् । घाइते पुनमका भतिजो सुनिल सहनीका अनुसार विवाह गरेका २ पत्नीले छाडेर गएपछि दिलिपले ७ महिनाअघि पुनमसँग विवाह गरेका थिए ।
विवाह गरेको २ महिनासम्म राम्रैसँग एकआपसमा मिलेर बसेका थिए । तर, केही महिना यता पुनमलाई शारीरिक र मानसिक तनाव दिने गरेको पुनमका भतिज सुनिलले बताए । विवाह गरेपछि पुनमलाई ५ महिना यता सिरहा गोलबजार लगेर पटक–पटक कुटपिट र यातना दिन थालेपछि सहन नसकेर पुनम २ साताअघि विराटनगर माइतमै बस्दै आएकी थिइन् ।

मंगलवार माइतमै आएर जबर्जस्ती सिरहा लैजान खोज्दा नमानेपछि खुकुरी प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । घटनामा संलग्न दिलिपलाई भाग्न खोज्दै गर्दा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान शुरू गरेको प्रहरी प्रमुख केसीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार