मधेसी जनतालाई अमर्यादित शब्द प्रयोग गरेर होच्याउने प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर प्रदेशसभामा सम्बोधन गर्न दिएको भन्दै प्रदेश नम्बर २ मा मुख्यमन्त्री लालबाबु राउतको कडा आलोचना भएको छ। खासगरी प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने राजपाका नेता तथा कालोझण्डा देखाउने कार्यकर्ताले राउतको आलोचना गरिरहेका छन्।

प्रधानमन्त्री ओली गत शनिबार प्रदेश २ को संसदलाई सम्बोधन गर्न आउँदा राजपाका चार सांसद मनिष सुमन, उपेन्द्र महतो, बिक्की यादव र गौरीनारायण साहले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गरेका थिए भने कार्यकर्ताले बाटोमा कालोझण्डा देखाउँदै नाराबाजी गरेका थिए।

प्रधानमन्त्रीले मधेश आन्दोलनको समयमा दिएको अभिव्यक्तिलाई लिएर माफी नमागेको, झुठा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ता नलिएको, संविधान संशोधन नगरेकाले बहिष्कार गरेको उनीहरुको तर्क छ। बहिष्कार गर्नेमध्येका एक राजपाका महासचिव मनीष सूमनले प्रधानमन्त्रीलाई संसदमा बोलाएर मुख्यमन्त्री राउतले राम्रो नगरेको टिप्पणी गरेका छन।

‘मधेश विरोधी प्रधानमन्त्रीलाई बोलाउने आवश्यक थिएन’ उनले भने, ‘आफ्नो ५० बर्षभन्दा बढी राजनीतिकालमा ओलीज्यूले मधेशमैत्री कुनै काम गर्नुभएको छ ? यस्तो व्यक्तिलाई बोलाएर सम्मान गर्नुको कुनै तुक थिएन ।’ ‘मधेशमा आन्दोलन भइरहँदा ओलीज्यूको बेली पनि अमर्यादित भएको कसैसँग लुकेको छैन । आफ्नो बोलीप्रति क्षमा नमाग्ने व्यक्तिलाई मान सम्मान दिइनु ठीक होइन ।’

सुमनले प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनको सन्दर्भमा राजपाको प्रदेश २ को संसदीय दलका नेता जितेन्द्र सोनलको भूमिका नराम्रो देखिएको भन्दै आलोचना गरे। उनले केपी ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनको कुनै औचित्य नभएको पनि बताए।

सरकार बनेको ६ महिना बनिसक्दा समेत संविधान संशोधन गर्नेतर्फ कुनै किसिमको चासो नलिएको, मुद्दा फिर्ता नलिएकाले समर्थन औचित्यहिन बनेको बताए । ‘दिइएको समर्थनको आवश्यक्ता छ कि छैन । त्यसबारे छलफल हुनु जरुरी छ’ उनले भने, ‘आवश्यक्ता नरहेकाले चाँडै समर्थन फिर्ता लिई मुद्दाका लागि अगाडि बढ्नु जरुरी छ ।’ उनले समर्थन फिर्ता लिई पार्टीले सडक र सदनमार्फत मुद्दा सम्बोधन गराउन अगाडि बढनु जरुरी रहेको बताए । mediadabali

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार