प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरेका दिलिपसिंह विष्टविरूद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ।

कन्चनपुर, भिमदत्त नगरपालिकाकी निर्मलालाई सिंहले नै बलात्कार गरी हत्या गरेको तथ्यप्रमाणसहित अदालतमा मुद्दा लैजाने तयारी भएको घटनाबारे अनुसन्धान गर्न काठमाडौंबाट गएको सिआइबी टोली संयोजक डिएसपी अंगुर जोशीले बताए।

निर्मलाका परिवार र स्थानीयले भने प्रहरी अनुसन्धानमा प्रश्न गरिरहेका छन्। प्रहरीले नक्कली मान्छे खडा गरेर मुख्यदोषी नखोजेको उनीहरूको आरोप छ।

प्रहरीले भने सिंहले नै निर्मलालाई मारेको निष्कर्ष निकालेको छ।

‘म काठमाडौंदेखि यही अनुसन्धान गर्न आएको हुँ। यत्रो दिनको अनुसन्धानपछि हामीले उनलाई पक्राउ गर्यौं। उनको चरित्रबारे सोधिखोजी गर्‍यौं। उनको बयान घटनाको प्रकृतिसँग मेल खान्छ,’ डिएसपी जोशीले सेतोपाटीसँग भने, ‘हामी अब मुद्दा दायर गर्छौं। दिलिप दोषी हुन् वा हैनन् भन्ने अदालतले नै फैसला गर्छ।’

निर्मलाका बुवाआमाले सिंहविरूद्ध किटानी जाहेरी दिन सिआइबीले दबाब दिएको बताएका थिए। डिएसपी जोशीले उक्त कुरा स्वीकार गरे।

‘हामीले दबाब दिएकै त हैन, जुनियर केटाहरूले भन्या होलान्। उहाँहरूले किटानी जाहेरी दिनैपर्छ भन्ने छैन। सामान्य जाहेरीकै आधारमा अपराधी पत्ता लगाउने दायित्व हाम्रो हो,’ उनले भने, ‘निर्मलाका परिवार र स्थानीयले भने हामीलाई सहयोग गर्नुभएन। उहाँहरूकै लागि हामीले काम गर्ने हो। उहाँहरू भने हामीविरूद्ध नै आन्दोलन गर्नुहुन्छ।’

निर्मला साउन १० गते बिहान साथी रोशनी बमकहाँ जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि फर्किनन्। छोरी साँझसम्म घर नफर्केपछि आमाले खोजी गरिन्। रोशनीको घरमा जाँदा निर्मला दिउँसै निस्किएको जवाफ पाइन्। त्यसपछि प्रहरीमा रिपोर्ट गर्दा उनीहरु पन्छिएको परिवारले बताउँदै आएको छ।

प्रहरी आफन्तलाई समेत लिएर निर्मलाको शव भेटिएको ठाउँमा सोमबार फेरि पुगेको थियो। दिलिपले साउन १० गते लगाएको कमिजसँग मिल्दोजुल्दो शंकास्पद खल्तीको टुक्रा भेटिएको डिएसपी जोशीले बताए।

‘त्यो प्रमाणै हो भन्ने त हैन। हामीले टेस्टका लागि पठाएका छौं,’ उनले भने।

निर्मलाका बुवा यज्ञराज पन्तले भने घटनाको यत्रो दिनपछि खल्ती भेटाएँ भन्नु आफूलाई नाटकजस्तो लागेको बताउँछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार