काठमाडौं । ललितपुरको ईमाडोलमा एक युवतीको चक्क प्रहारबाट मृत्यु भएको छ ।
बुधबार ललितपुर उपमहानगरपालिका वडानम्बर १ इमाडोल घर भएकी अन्जना श्रेष्ठ ‘अनु’को चक्कु प्रहारबाट मृत्यु भएको हो ।
महानगरीय प्रहरी प्रभाग इमाडोलका प्रहरी निरिक्षक राजबाबु महर्जनका अनुसार युवतीको मृत्यु प्रकरणमा एक युवालाई पक्राउ गरिएको छ ।
पक्राउ परेका राजेन्द्र कुमार नकर्मीको डेरामा नकर्मी र श्रेष्ठबीच ‘डिसकस’ भएको र युवतीले आफैले हात र नाइटोमा चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका नकर्मी र मृतक अन्जनाबीच प्रेम सम्बन्ध थियो ।
‘उनीहरुबीच अफेयर थियो भन्ने कुरा आएको छ । भूकम्पले घर भत्काएपछि युवकले डेरा लिएर बसेको देखिएको छ । राजेन्द्र कुमार नकर्मीले मोबाइलमा युवतीको नम्बरलाई ब्ल्याक लिस्टमा राखेको थाहा पाएपछि युवती नर्कीको डेरामा पुगेको देखियो,’ महानगरीय प्रहरी बृत सातदोबाटोका डिएसपी बिनोद सिलवालले भने,‘मोबाईलमा ब्लयाक लिस्टमा राखेको झोँकमा युवतीले आफैलाई चक्कुले प्रहार गरेको भन्ने बुझीएको छ ।’
चक्कु प्रहारबाट अत्याधिक रक्तश्राव भएपछि पक्राउ परेका युवाले युवतीलाई अस्पताल लगेको समेत प्रहरीले जनाएको छ ।
युवतीले आफ्नो हात र नाइटोमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
उपचारको क्रममा युवतीको निधन भएपछि मृतकका आफन्तले भने घटनामा युवकको संग्लनता रहनेको आरोप लगाएका छन् ।
उनीहरुले जाहेरी दिने तयारी समेत गरेको बताइएको छ ।
मृतक श्रेष्ठको शव पोस्ट मार्टमका लागि ललितपुर स्थित पाटन अस्पतालमा राखिएको छ ।







