प्रदेश २ राजपा संसदीय दलका नेता जितेन्द्र सोनलमाथि विश्वासको संकट आईपरेको छ । प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको विषयलाई लिएर पार्टी भित्र विवाद बढे पछि संसदीय दलको नेताको पद छोड्न दबाब बढेको छ ।
पर्साबाट प्रदेश सभा सांसद रमेश कुर्मीले सोनललाई नैतिकताको आधारमा संसदीय दलको नेता पदबाट राजीनामा गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीको प्रदेश सभामा भएको विशेष सम्बोधनको विरोध गर्दै राजपाका १२ जना सांसद सदनमा अनुपस्थित भएपछि उनलाई संकटको सामना गर्नु परेको हो । यस्तै, सोही पार्टीका तीन सांसदले प्रधानमन्त्रीको भाषणको विरोध गर्दै सदनबाटै बहिष्कार गरेर बाहिर निस्किएपछि उनलाई थप नैतिक संकट परेको थियो ।
संसदीय दलको बहुमत सदस्य र अधिकांश मन्त्रीहरुले विरोध स्वरूप प्रधानमन्त्री आेलीको सम्बोधन कार्यक्रममा अनुपस्थित भए पछि सोनल संसदीय दलको नेताको पदमा बसी रहने नैतिक अधिकार गुमाएको कुर्मीले जनाएका छन् ।
प्रदेश सरकारको आमन्त्रणमा जनकपुर पुगेका प्रधानमन्त्री ओलीको प्रदेश सभा सम्बोधन कार्यक्रमलाई सफल बनाउने जिम्मा फोरम नेपालको तर्फबाट स्वयं मुख्यमन्त्री लालबाबु राउतले लिएका थिए भने राजपाको संसदीय दलका नेताको हैसियतमा रहेका दोस्रो वरीयताका मन्त्री सोनलमाथी समेत जिम्मेवारी सुम्पिएको थियो । तर, सोनलको अनेकौं प्रयासका बावजुद राजपाका बहुमत सांसद अनुपस्थित रहेका थिए ।
छ जना मन्त्री रहेको राजपाका मात्र दुई मन्त्री सदन भित्र उपस्थित थिए । संसदीय दल र सरकारको नेतृत्व गरिरहेका सोनलको न त आफ्नो पार्टीका मन्त्रीहरु माथि नियन्त्रण छ न प्रदेश सभाका आफ्ना सांसदहरु माथिनै । पार्टीका केन्द्रीय अध्यक्ष मण्डलको सिफारिशमा विधान विपरीत संसदीय दलका नेता बनेका सोनल प्रति उनका पार्टीका बहुमत सांसदहरु असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।
राजपाले शुरू देखिनै प्रधानमन्त्रीको प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रमको विरोध गर्दै आईरहेको थियो । तर, फोरम नेपालसंग मिलेर सोनलले पार्टी भित्र अथवा संसदीय दलमा कुनै छलफलनै नगरी एकलौटी निर्णय गरेको प्रति उनलाई संसदीय दलको नेता पदबाट हटाउने गृहकार्य शुरू भएको छ ।
प्रधानमन्त्रीको सम्बोधन कार्यक्रममा सबै सांसदहरुको अनिवार्य उपस्थितिको लागि सोनलले आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन जारी गरेपनि अधिकांश मन्त्री र बहुमत सांसदहरुको अनुपस्थितिले सोनललाई संसदीय दलको नेता पदमा बसी रहन नैतिक संकट परेको छ ।
जितेन्द्र सोनलले आफैले नियुक्त गरेका संसदीय दलका प्रमुख सचेतक परमेश्वर साह, आफ्नै मन्त्रालयमा राज्य मन्त्री रहेकी डा डिम्पल झा, आफ्नो सिफारीसमा पर्यटन उद्योग राज्य मन्त्री बनेका सुरेशकुमार मण्डल, पूर्व तमलोपामा आबद्ध सांसद र मन्त्रीहरु समेत अनुपस्थित भए पछि सोनलमाथि पद छोड्न थप दबाब परेको छ । ‘कायदाले हेर्ने हो भने सोनलले नैतिकताको आधारमा संसदीय दलको नेता र मन्त्री दुबै पदबाट राजीनामा गर्नु पर्ने हो.’ हालै दिल्लीबाट फर्केर आएका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने, यस बारे पार्टी भित्र गम्भिर छलफल भई रहेको छ।nepalpanaबाट







