नेपाली कांग्रेसले पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको छ।
सभापति शेरबहादुर देउवाले बिहीबार ११ सदस्यीय समिति गठन गरेका हुन्।
समितिको सदस्यहरूमा मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक रहेका छन्।
सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको हो।
समिति गठन हुनुपूर्व सभापति देउवाले बिहीबार बिहान पार्टी पदाधिकारीसँग यसबारे छलफल गरेका थिए।
विधान संशोधन समितिले पार्टी सभापतिसँग परामर्श गरी आफ्नो कार्यविधि आफैं बनाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
समितिले आवश्यकता अनुसार विभिन्न व्यक्ति र संस्थाहरूलाई समितिमा आमन्त्रण गर्न सक्ने अधिकार दिएको छ। मुलुक संघीय संरचनामा गएको लामो समय भए पनि कांग्रेस पुरानै संरचनाअनुसार चलेको छ।
वैशाख १६ गते सकिएको केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसको विधान २०१७ को धारा २२ अनुसार विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो।
महासमिति बैठकबारे पनि छलफल गर्न कांग्रेसले शुक्रबार पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको छ।







