कञ्चनपुरको निर्मला पन्त हत्याकाण्डलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र असन्तुष्टि सुरु भएको छ। खासगरी प्रदेश नम्बर ७ नेताहरुले केपी शर्मा ओली नेतृत्वको सरकार र गृहमन्त्री रामबहादुर थापा बादलले घटनालाई महत्व नदिएको र सुरक्षा निकायले वास्तविक दोषी लुकाउन षडयन्त्र गर्दापनि मौन बसेको भन्दै असन्तुष्टि जनाएका छन्। पार्टीकै अध्यक्ष ओलीको नेतृत्वमा सरकार रहेका बेला न्याय पाउन र शान्ति सुरक्षा कायम गराउन जनता नै सडक संघर्षमा आउनुपर्ने अवस्था आएपछि नेताहरु आक्रोशित भएका हुन्। यसरी आक्रोशित नेताहरुले प्रदेश ७ का कमाण्डर लेखराज भट्टको नेतृत्वमा गृहमन्त्री थापाकोे ध्यानाकर्षण गराएका छन्।
नेकपाका नेताहरुले विहीबार गृह मन्त्रालय पुगी कञ्चनपुर घटना बारे सत्यतथ्य पत्ता लगाई दोषिमाथि कडा भन्दा कडा कार्वाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन्। हस्ताक्षरसहित पेस गरिएको ६ बुँदे ज्ञापन पत्रमा घटनाबारे छानविन गर्न उच्च स्तरीय छानविन टोली गठन गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, आन्दोलनका क्रममा घाइते भएकाहरुको राज्यले उपचार गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने, कञ्चनपुरको भीमदत्तनगरमा भएको घटनाबारे गृह मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने लगायतका माग समेटिएका छन्।
ज्ञापन पत्रमा प्रहरी अनुसन्धानमाथि नै शंका उत्पन्न भएकोले आन्दोलनले दिनप्रतिदिन ठुलो स्वरुप लिइरहेको र सरकारले उपयुक्त कदम यथाशिघ्र चाल्नुपर्ने उल्लेख छ। ज्ञापनपत्रमा नेकपाका स्थायी समिती सदस्य लेखराज भट्ट, केन्द्रिय सदस्य लक्ष्मणदत्त जोशी र देविलाल चौधरी लगायत अन्य युवा नेताहरुको हस्ताक्षर रहेको छ।
भीमदत्त नगरपालिका २ खोल्टी निवासी १३ वर्षीया निर्मला साउन १० गतेदेखि वेपत्ता थिईन्। साउन ११ गते उनको शव भीनपा १९ को एक उखुबारीमा फेला परेको थियो। घटनाको तीन सातापछि प्रहरीले आइतबार भीमदत्तनगरपालिका १९ बागफाँटाका ४१ बर्षीया दिलिपसिंह विष्टलाई बलात्कार गरी हत्या गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको थियो। मानसिक अवस्था कमजोर भएका बिष्टलाई हत्याराभनि सार्वजनिक गरेपछि आन्दोलन झन चर्किएको हो।mediadabali बाट







