काठमाडौंः नेपाली कांग्रेसमा अहिले गुट फेरबदल र नयाँ गुट बन्ने क्रम तिव्र छ । प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि नेतृत्व परिवर्तनका आवज समेत उठिरहेका छन् ।
यही क्रममा कांग्रेसमा नयाँ समुहको जन्म भएको छ । १४ औं महाधिवेशनलाई लक्षित गरेर कांग्रेसमा नयाँ समुहको जन्मिएको स्रोतको दावी छ । सभापति शेरबहादुर देउवालाई नमान्ने र बरिष्ठ नेता रामचन्द्र पौडेललाई रोक्ने योजना अनुसार नयाँ समुह जन्माइएको स्रोतले जानकारी दियो । डा। शेखर कोइरालाको नेतृत्वमा बनेको नयाँ समुह बनेको छ । उक्त समुहमा युवा नेता गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, स्वर्णीम वाग्ले लगायतका नेता रहेका छन् ।
यी बाहेकका नेतालाई समेत समुहमा समावेश गर्ने विषयमा छलफल भइरहेको छ । १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार कोइरालालाई अघि सार्ने योजना अनुरुप समुहको निर्माण भएको स्रोतले जानकारी दियो ।
वर्तमान महामन्त्री शशांक कोइरालाई मनाएर शेखरले पार्टीको नेतृत्वमा दावी गर्ने समुहका एक नेताले जानकारी दिए । उनका अनुसार समुहले शेखरलाई सभापति र थापालाई महामन्त्रीमा अघि सार्ने तयारी गरेको छ ।
समुहमा कृष्णप्रसाद सिटौला, भिमसेनदास प्रधान लगायतलाई समेत समावेश गर्ने तयारी भइरहेको बताइएको छ । पार्टीको महाधिवेशन आउन करिब २ बर्ष आउन बाँकी नै छ । तर पनि नेताहरुले भने अहिले देखिनै महाधिवेशनको तयारी थालिसकेका छन् । महामन्त्री कोइरालाले हालै आफु, शेखर र सुजता कोइराला मध्ये एक सभापतिको उम्मेद्वार हुने बताइसकेका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफु सभापतिको उम्मेद्वार भएको यसअघि नै घोषणा गरेका थिए । बरिष्ठ नेता पौडेलले भने अहिले नै पदका लागि दावी गरिहाल्नु हतार हुने भन्दै पहिलो प्राथमिकता पार्टी निर्माण भएको बताइरहेका छन् ।







