केही दिनअघि मुस्ताङमा भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका रोल्पाली व्यक्तिका परिवारलाई त्यहाँका विद्यार्थीले रकम सङ्कलन गरी पठाएका छन् ।मुस्ताङको धौलागिरि आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको कल्याणकारी सङ्गठन जुनियर रेडक्रस सर्कलको अगुवाइमा रु ६६ हजार ५१० सङ्कलन गरी रोल्पा पठाइएको हो ।रेडक्रसकर्मी विद्यार्थीले सङ्कलन गरेका सो रकम यहाँको सुनछहरी गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा दामासाही रूपमा प्रति मृतकको रु सात हजार ३९० का दरले उपलब्ध गराइएको स्थानीय हर्क घर्तीमगरले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका अध्यक्ष नौलसिं पुन, सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनलगायतको सहभागिता रहेको सो कार्यक्रममा मृतकका परिवारलाई सम्झने मुस्ताङी विद्यार्थीप्रति रोल्पालीले आभार व्यक्त गरेका थिए ।सडक निर्माणमा मजदुरी गर्न गएका थवाङ र सुनछहरी गाउँपालिकाका नौँ मजदुरले मुस्ताङमा भएको टिपर दुर्घटनामा ज्यान गुमाएका थिए । आर्थिक अवस्था कमजोर रहेका उनीहरूको मृत्युपछि परिवारका सदस्यलाई जीवन निर्वाहमा समस्या भएको थियो । आर्थिक सहयोगले तत्कालका समस्या समाधानमा सहयोग पुग्ने मृतकका परिवारले जनाए । दुर्घटनामा एकै परिवारका तीनसहित नौँ जनाले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार