सोमनाथ ढुंगानाले विद्यालयमा पढाउन थालेको २१ हिउँद बित्यो । १३–१४ वर्षदेखि उनी एउटै विद्यालयमा चक–डस्टरको धूलो खाइरहेका छन् । जामुनाखर्क माध्यमिक विद्यालय, बेनी नगरपालिका–६ म्याग्दीमा ।यसबीचमा जीर्ण कालोपाटीमा कोरिएका धूमिल अक्षरको बाटो हुँदै थुप्रै विद्यार्थीले उच्च शिक्षाको खुट्किला पार गरे । कति उच्च ओहदामा पुगे । थुप्रैले शासन–प्रशासनसमेत सम्हाले । हुन सक्छ, कोही शिक्षाको उज्यालो घाममासमेत बाटो नदेखेर कुहिराको काग पनि बने ।तर, भदौ १ गतेको बिहान उनको ‘करिअर’कै अपत्यारिलो घटना घट्यो । आफ्नै विद्यालयमा ६ कक्षामा पढ्ने छात्रा पूजा खत्रीले भावुक पत्र कोरिन् ।“सर ! आजदेखि म विद्यालयमा आउन असमर्थ छु । घरमा खानेकुरा छैन । कापीकलम किन्ने पैसासमेत छैन । बाध्यताले म विद्यालयमा आउन सकिनँ सर !”– पूजा खत्रीका किरिङमिरिङ, बाङ्गाटिङ्गा यी हरफले उनका आँखा रसाए । दृष्टि धमिलियो । पूजाको अभाव र वेदनाले मन अमिल्लिनुसम्म अमिल्लियो ।बेनी बजारमा रहेको बालमन्दिर आधारभूत विद्यालयबाट प्राथमिक तह उत्तीर्ण गरेकी पूजाको पढाइमा लगावै थियो । सरहरूले अह्राएको गृहकार्य खुरूखुरू गर्थिन् । सधैँ हँसिली, खुसिली देखिन्थिन् । समयमै स्कुल आउँथिन् । साथी–संगतीसँग हाँसखेल पनि गर्थिन् ।तर, साउनको अन्तिम हप्तादेखि उनी एकाएक स्कुल आउन छाडिन् ।पढाइमा असाध्यै मन गर्ने विद्यार्थी एकाएक गायब हुनु राम्रो संकेत होइन । फेरि पहिलो त्रैमासिक परीक्षाको तिथिसमेत नजिकिँदैछ । प्रधानाध्यापकसमेत रहेका ढुंगानाले उनका सहपाठीलाई कक्षामै गएर सोधे– “खै पूजा ?”अवोध उनका सहपाठीलाई पूजाको गरिबीको दुष्चक्रबारे ज्ञात होस् कसरी ? “थाहा छैन सर । तर, स्कुल नआएको धेरैदिन भयो !,” सबैले समवेत स्वरमा भने । प्रअ ढुंगाना थप आश्चर्यमा परे । र उनले तत्कालै विद्यार्थीलाई अह्राए, “भोलि उसको घरमा बुझेर खबर ल्याओ है !”“हस् सर !,” आज्ञाकारी बालकलेझैँ सबैले मुन्टो हल्लाए । भोलिपल्ट पनि पूजा आइनन्, पत्रचाहिँ आयो ।पत्रमा लेखिएको थियो, “घरमा खानेकुरा छैन । कापीकलम किन्ने पैसा पनि छैन । स्कुल आउँदिन सर । बरु ‘रेस्टिगेट’ गरिदिनू !”छाँगाबाट खसेझैँ भए उनी । मस्तिष्क रन्थनियो । अध्यापनको यो प्रौढ अवधिसम्म आइपुग्दा उनले यस्तो घटना चाल पाएका थिएनन्– घरमा खानेकुरा नहुँदा शिक्षाको ढोकै बन्द भएको !पत्र पूरा पढ्दा नपढ्दै उनको मन विदीर्ण भयो । आँखाका छेउकुना रसाए । कहिले स्कुल छुट्टी होला र शिक्षकलाई पूजाको घर पठाउनुजस्तो पो भयो ।“आर्थिक विपन्नताका कारण पढ्न नसकेको, पढाइ बीचमै अलपत्र परेको कुरा हामीले नसुनेका होइनौँ । कसैले मुख खोल्न सक्दैनथे । तर, पूजाले आफ्नो गरिबी, अभाव र निर्धनता पत्रमै ओकलेकी थिइन्,” ढुंगाना त्यसदिनको घटना स्मरण गर्छन् । शिक्षक पूजाको घर पुगे । अवस्था निकै टीठलाग्दो थियो । घरमा खानेकुरा केही थिएन । पानीले पखालेकोजस्तो थियो घर । ६० वर्ष उमेर पूरा भइसकेका वृद्ध हजुरबुबा आँगनमा शरीर घिच्याउँदै थिए । एक त वृद्ध, अर्को शारीरिक अशक्तता । निकै विक्षिप्त थिए उनी पनि ।पूजाले घरको बेलिबिस्तार लगाइन् ।बाबुआमा दुवै छन् तर कोही घर बस्दैनन् । आमा घर छाडेर बाग्लुङ गएको निकै समय भइसकेको छ । बाबु बजार छेवैमा फर्निचरमा काम गर्छन् तर घर खासै आउँदैनन् ।कहिलेकाहीँ महिना, दुई महिनामा आउँदा रहेछन् । घर आउँदा एक्लै नआउने, रक्सीको दुर्गन्ध पनि साथै लिएर आउने । पूजाले कहिलेकाहीँ कापीकलम किन्न पैसा माग्दिरहिछन् ।“यत्री भइसक्दा पनि पैसा माग्छेस् । बरु बिहे गरेर जा !,” पैसा दिने त कहाँ हो कहाँ पिटाईचाहिँ भेट्दिरहिछन् उनले ।बालमन्दिरमा पढ्ताताका पूजाले शिक्षकलाई घरमा खाना नभएको र कापी किन्नसमेत पैसा नभएको गुनासो गरेकी थिइन् । शिक्षकले बाबुलाई छोराछोरीलाई कापीकलमको जोहो गरिदिन आग्रहसमेत गरे ।“घरको कुरा स्कलुमा गएर सुनाउँछेस् । घरको कुरा शिक्षकलाई भन्दै हिँड्ने हो ?,” भन्दै उल्टै उनले बाबुको हातबाट पिटाइ भेटिन् ।हजुरबाले वृद्धभत्ता थापेको केही हप्तासम्म उनीहरूको चुल्हो तात्दो रहेछ ! त्यसपछि भोकै । त्यसदिन बिहान पनि बाटो हिँड्नेले दिएको मकै खाएर पेट भरेका रहेछन् उनीहरूले ।हजुरबाको हातखुट्टा चलुञ्जेलसम्म त उनीहरू जसोतसो स्कुल जान सकेका रहेछन् । हजुरबाको हातखुट्टा बसेपछि पूजाको स्कुल जाने बाटो ठप्प भएछ ।आफ्नो जीवन रातै नपरी अँध्यारो भइहाल्यो । भाइ–बहिनीलाईचाहिँ पढाउनुपर्छ भनेर उनले आफ्नो गाँस काटेर भए पनि भाइबहिनीलाई स्कुल पठाएकी रहिछन् ।यति कुरा शिक्षकको मुखबाट सुनेपछि प्रअ ढुंगाना मर्माहत बने । उनले तत्कालै पूजाले पठाएको पत्रको फोटो खिचे र बेनी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर बानियाँलाई खबर गरे ।“पूजाका लागि आवश्यक व्यवस्था त स्कुल आफैँ गर्न सक्थ्यो । तर, उनका दुई भाइबहिनी पनि छन् । फेरि पूजाको नियति बेहोर्ने कति होलान् ? अरू नभए पनि सरोकारवालाको ध्यानाकर्षण होला नि !,” पत्र बाहिर ल्याउनुको निहीतार्थ सुनाउँछन् प्रअ ढुंगाना ।पछिल्लो समय सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क घोषणा गरेको छ । त्यसो त निरक्षता प्रतिशतलाई शून्यमा झार्न वैशाखको पहिलो साता प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, सरकारका उच्च पदस्थ अधिकारीदेखि जनप्रतिनिधिले ‘एक व्यक्ति एक विद्यार्थी भर्ना’ गर्ने अभियान चलाए । गरिब, अनाथ, असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने होडबाजी नै चल्यो ।तर, पूजाहरू आज पनि घरमा खानेकुरा नहुँदा र कापी–कलम किन्न नसक्दा ‘रेस्ट्रिकेट’को याचना गर्न अभिशप्त छन् ।“हाम्रो स्कुलमा बाह्र कक्षासम्म पढ्न पैसा लाग्दैन । तर खानेकुरा नभएर, कापीकलम किन्न नसकेरसमेत स्कुल आउन नसक्नेहरू रहेछन्,” यतापट्टी पनि ध्यान पुर्याउन सरोकारवालाई आग्रह गर्छन् उनी ।अहिले पूजा खत्रीलाई स्कुलमा फर्काउन पहल गरिरहेका छन् ढुंगाना । त्यसमा बेनी नगरपालिकालेसमेत सघाएको छ ।यसमा आफू सक्दो सहयोग गर्न कटिवद्ध रहेको बताउँछन् बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ । आफू यस विषयमा अनभिज्ञ रहेको भए पनि स्कुलका प्रधानाध्यापकमार्फत् सबै कुरा बुझेर बालिकालाई स्कुलमा निर्वाध जाने वातावरण बनाउने उनले प्रतिबद्धता जनाए ।प्रधानाध्यापक ढुंगाना, स्कुलका शिक्षक, वडाध्यक्ष बानियाँसमेतको पहलमा उनले अहिले त्रैमासिक परीक्षा दिन थालेकी छिन् पूजाले । ५ गतेदेखि शुरू भएको परीक्षा दिन नियमित आइरहेकी छिन् । तथापि घरको आर्थिक अवस्था नसुध्रने हो भने उनको चुल्हो जतिबेलै निभ्न सक्छ । र, भोकै स्कुल आउन सक्दिनन् ।“त्यसैले सबैसँग हातेमालो गरेर उनको उच्च शिक्षासम्मको ढोका खोलिदिन पाए आफैँ गरेर खान्थिन्,” सहयोगको अनुरोध गर्छन् प्रअ ढुंगाना ।तस्बिर सौजन्य : सोमनाथ ढुंगाना (विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगाना ९८५७६२२२१५ मार्फत् बालिकालाई सीधा सहयोग गर्न सकिनेछ ।) साभार बाह्रखरीबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार