काठमाडौँ, ७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पत्रकारहरुको संस्था क्रान्तिकारी पत्रकार संगठन नेपाल फुटेको छ । तेस्रो राष्ट्रिय सम्मेलन भएको लामो समयसम्म पनि केन्द्रीय पदाधिकारी चयन नभएपछि संगठन फुटेको हो ।

प्रकाश डुम्रे, हिम विष्ट, राजेन्द्र चिमौरिया, मानध्वज लामा, मोहन पन्त, सिर्जना तिम्सिना र आलोक लिम्बु लगायतले संगठन फुटाएका हुन् । उनीहरुलाई नेकपाका प्रवक्ता खड्बहादुर विश्वकर्मा प्रकाण्ड लगायतका नेताहरुको साथ रहेको स्रोतले जनाएको छ ।

उनीहरुले पदाधिकारी समेत चयन गरिसकेका छन् । तर, संस्थापन पक्षले भने यसमा कुनै आधार नरहेको दाबी गरेको छ । नगरकोटमा भएको बन्दसत्रपछि केन्द्रीय समितिको बैठक नबसेको र पदाधिकारी चयन गरिएको भन्ने हल्ला मात्र भएको संस्थापन पक्षले दाबी गरेको छ । संगठनको तेस्रो राष्ट्रिय सम्मेलन गएको बैशाख १५ गते काठमाडौंको राष्ट्रिय सभागृहमा उदघाटन गरिएको थियो भने १६ र १७ गते नगरकोटमा बन्दसत्र गरिएको थियो ।

‘सम्मेलनमा प्रहरीले गरेको हस्तक्षेपका कारण हामीले केन्द्रीय समितिको नाम मात्र पारित गरि बाँकी पदाधिकारी केन्द्रीय समितिको पहिलो बैठकबाट चयन गर्ने गरि बन्दत्र सम्पन्न गरेका थियौँ’, संगठनले बिहीबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘त्यसपछि आन्तरिक र बाह्य परिस्थितिको अप्ठारोका कारण अहिलेसम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । यसैक्रममा केही मान्छेहरुले केन्द्रीय समितिको बैठक बसेर पदाधिकारीको चयन गरिएको भन्दै आफैले आफैलाई पदाधिकारी घोषणा गर्ने र समाचार लेखाउने तथा सामाजिक सञ्जालमा बधाई दिन लगाउने अत्यन्तै निच हर्कत गरिरहेका छन् । यी कुनै पनि हल्ला सत्य नभएको र यस्ता निराधार हल्लामा विश्वास नगर्न हामी सबैमा अनुरोध गर्दछौ ।’

संगठनले अब छिट्टै केन्द्रीय समितिको बैठक बसेर नगरकोट सम्मेलनको बाँकी प्रक्रियालाई पूरा गरि संगठनको नियमित काम कार्यमा अघि बढ्ने जानकारी पनि दिएको छ । संगठन फुटाउनेहरु शान्तिप्रक्रियापछि आएकाहरु रहेको संगठन स्रोतको दाबी छ ।

नेतृत्व चयन गर्दा अहिलेको पार्टीको मार्गदर्शन, आन्दोलनमा गरेको योगदान, संगठनमा देखाएको सक्रिया र पेशागत निरन्तरतालाई काम गर्ने संगठनले जनाएको छ । यस्ता मापदण्डबाट अत्तालिएकाहरुले संगठन विभाजन गर्ने कोशिस गरेको संस्थापन पक्ष निकटका एक पत्रकारले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार