काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कञ्चनपुर घटनामा शंकास्पद सबैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइने निर्णय गरेको छ। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे छलफल गर्न शनिबार बालुवाटारमा बसेको आकस्मिक सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक दोषीलाई सार्वजनिक गर्न माग गर्दै आन्दोलन झनै चर्किदै गएपछि आज बिहान आकस्मिक सचिवालय बैठक बसेको थियो । बैठकले देशभरि बढीरहेका हत्या बलात्कार जस्ता जघन्य अपराध र शान्ति सुरक्षाको अवस्थाबारे विश्लेषण गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्रि एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा अर्का अध्यक्ष पुष्प कमल दाहल प्रचण्ड तथा काठमाडौंमा रहेका सबै सचिवालय सदस्यहरु सहभागी थिए । उक्त बैठकमा कञ्चनपुर घटनाका शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने निर्णयसमेत गरेको छ ।
बैठकमा निर्मला पन्त हत्या र जारी आन्दोलनका बारेमा नेताहरुबिच गम्भीर छलफल भएको र घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउने तयारी बारे पनि बैठकमा कुरा भएको बताए । उनले भने, ‘कञ्चनपुर घटनासहित देशको पछिल्लो अवस्थाबारे समीक्षा भयो । घटनाको गहिराइमा पुगेर अनुसन्धान गर्ने निर्णय भएको छ ।’
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक दोषीलाई सार्वजनिक गर्न माग गर्दै शुक्रबार भएको प्रर्दशनमा प्रहरीको गोली लागेर १७ एक बालक सन्नु खुनाको ज्यान समेत गएको थियो ।







