भाद्र ९, २०७५ प्रदेश ७ सरकारले कञ्चनपुरमा भएको झडपमा परी शुक्रबार मृत्यु भएका सन्नी खुनाका परिवारलाई क्षतिपूर्ति दिने र घाईतेको उपचार खर्च ब्यहोर्ने बताएको छ । धनगढीमा आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । क्षतिपूर्ति रकम भने खुलाइएको छैन् । आज मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले कञ्चनपुरमा किशोरी बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन केन्द्र र प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । घटनाको अनुसन्धानमा सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो । ‘प्रदेश सरकारकै आग्रहमा केन्द्र सरकारले उच्चस्तरीय छानवीन समिति पठाएको हो’ प्रवक्ता शाहले भन्नुभयो, ‘आम नागरिकले उच्चस्तरीय छानवीन समितिलाई काम गर्ने वातावरण दिनुपर्छ ।’ कञ्चनपुरमा उत्पन्न परिस्थितीबारे छलफल गर्न सुरक्षा निकायका प्रमुखसहित आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको मन्त्री शाहले बताउनुभयो । कञ्चनपुरकी किशोरको बलात्कारपछि हत्याको घटनाले हाल सबैलाई संवेदनशील बनाएको बताउँदै शाहले भन्नुभयो, ‘समस्या समाधानका लागि हामी केन्द्र सरकारसँग निरन्तर समन्वयमा छौं, चाडै सबै कुरा ठीक हुन्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार