काठमाडौं–कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय किशोर सनी खुनाको मृत्यु भएको घटनाको नयाँ शक्ति पार्टी, नेपालले भत्सर्ना गरेको छ ।
नयाँ शक्तिको प्रचार विभागले जारी गरेको विज्ञप्तिमा बलात्कार र हत्याको घटनालाई गम्भीर ढङ्गले लिई त्यसको छानविन र कारवाहीको प्रक्रिया द्रूतगतिमा अघि बढाउनुपर्नेमा राज्यका निकायहरूमा गम्भीरता र संवेदनशीलताको अभाव देखिएको आरोप लगाइएको छ ।

यस्तै घटनाको छानविन र अपराधीलाई कारवाहीको माग गर्दै स्थानीयले गरेको आन्दोलनलाई समयमै उचित सम्बोधन गर्नुको साटो राज्यप्रशासनले अनावश्यक बल प्रयोग गरेर आन्दोलनकारीलाई उत्तेजित बनाउने कार्य गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यसले स्थिति झन् बिग्रँदै गएको देखिएको नयाँ शक्तिको बुझाई छ ।

१३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याका अपराधीलाई कारवाहीको माग गर्दै कञ्चनपुरमा चर्किएको आन्दोलनमा शुक्रबार गोली चल्दा खुनाको मृत्यु भएको थियो ।

यसैबीच परिस्थितिलाई साम्य पार्न भन्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेपनि कफ्र्यू आदेश दीर्घकालीन समाधानको उपाय नभएको भन्दै नयाँ शक्तिले भनेको छ, ‘ किशोरी बलात्कार र हत्याको घटनाको छानविन गरी अपराधीलाई कारवाही गर्ने काममा द्रूतरुपमा लाग्न सरकारसँग नयाँ शक्ति पार्टी, नेपाल जोडदार माग गर्दछ ।’

नयाँ शक्तिले प्रहरीको गोली लागी मृत्यु भएका सनि खुनाको परिवारलाई क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरुको शीघ्र उपचार गर्न पनि सरकारसँग माग गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार