निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन् । तर, त्यो घरदेखि नै यो घटना एकदमै रहस्यमय छ । त्यो घर दुईतल्ले छ, त्यहाँ बम दिदीबहिनीमात्रै बस्थे । उनीहरुका बुबाआमा दार्चुलामा बस्ने गरेका थिए । घरमा उनका छोरीहरु रोशनी आँचल र बबिता मात्रै बस्थे । निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन् । उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन ।

स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायाः आवत-जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने-जाने गर्थे ।
स्थानीयबासीको माग के रहेछ भने निर्मलाको बलात्कार र हत्या प्रशरणपश्चात एसपीका छोरा र मेयरका भतिजालाई पनि प्रहरीले छानविनको दायरामा ल्याओस् र उनीहरु दोषी भए नभएको जनसमक्ष स्पष्ट पारोस् । निर्मला गएकी घरमा बस्ने आँचल र बबिता बममाथि पनि अनुसन्धान गरियोस् । तर, प्रहरीले २४/२५ दिनसम्म उनीहरुमाथि कुनै अनुसन्धान नगरी फ्याट्ट मानसिक रोगीलाई बलात्कारीको पगरी भिराएपछि स्थानीयवासी सडकमा उत्रिएको स्रोत बताउँछ ।
त्यो रहस्यमय घरबाट निर्मला हराएपछि पाइएका केही तथ्यहरु झै रहस्यमय छन् । जस्तो- घटनास्थलमा निर्मलाका किताब कापी भेटिएका थिए । तर, किताब पानीले भिजेका थिएनन् । जबकि त्यहाँ रातभरि पानी परेको थियो ।
निर्मलालाई अम्बा दिएर पठाएको भनिए पनि त्यहाँ अम्बाको बोट काटिएको छ । घरभित्र पनि भर्खरै रंग पेन्टिङ गरिएको स्थानीयले जानकारी दिएका छन् ।
निर्मला उक्त घरमा होमवर्क गर्न राति गएकी पनि हैनन, बिहान ११ बजेतिर गएकी हुन् । बम दिदीबहिनीहरु निर्मला त्यहाँबाट २ बजे साइकल लिएर निस्किएको बताउँछन् । हामीले उनलाई अम्बा दिएर पठाएका हौं भन्छन् ।

शंकास्पद वयान र वस्तुस्थिति
साउन १० गते बेलुका ५ बजेसम्म पनि निर्मला घरमा नआउँदाखेरि उनकी आमा निर्मलालाई खोज्दै बम परिवारको घरमा पुगिन् ।
निर्मलाकी आमालाई बबिताले छोरी अघि नै घर गईसकी, हामीले अम्बा दिएर पठाएका हौं भनेकी थिइन् । तर, अहिलेसम्म आइन त भन्दाखेरि ‘पोइल गई होली’ भन्ने जवाफ फर्काएको निर्मलाकी आमाको भनाइ छ ।

छोरी नभेटिएपछि निर्मलाकी आमा नजिकैको प्रहरी कार्यालयमा पुगिन् । तर, प्रहरीले उनलाई ‘अब भोलि खोजौंला’ भन्ने जवाफ दियो । त्यति भन्दाभन्दै पनि उनी राति २ बजेसम्म त्यहीँ प्रहरी कार्यालय परिसरमै भौतारिइरहिन् । छोरी खोजिदिनुपर्‍यो भनेर उनले बारम्बार आग्रह गरिरहिन् । परिवारका सदस्यले रातिसम्म निर्मलालाई खोजिरहे । तर, प्रहरीले उनीहरुको आर्तनादलाई खासै ध्यान दिएन ।

निर्मलाकी आमा भोलिपल्ट बिहान फेरि बम दिदीबहिनीका घरमा पुगिन् । निर्मला त आइन, कहाँ गई भन्दाखेरि त्यहीबेलामा कसैले उखुबारीमा साइकल फेला परेको जानकारी दियो । प्रहरीको भनाइ अनुसार घाँस काट्न जानेले निर्मलाको साइकल र शव फेला पारेका हुन् ।
त्यतिबेला बबिता बमले ‘उसोभए लास पनि त्यहीँ होला’ भनेको निर्मलाका परिवारको दाबी छ । यो कुरा बबिताले सीआइबीसँग पनि स्वीकार गरेको पीडित परिवारको भनाइ छ ।
प्रहरीले सुरुमा बबिता र उनकी बहिनी आँचल भनिने रोशनी बमलाई पक्रेको थिएन । तर, जब मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई सार्वजनिक गरेपछि फेरि आन्दोलन चर्कियो, त्यसपछि बल्ल बमको घरमा पनि आक्रमण हुन सक्छ भन्ने लागेर प्रहरीले उनीहरुलाई कार्यालयमा ल्याएर सुरक्षामा दियो । उनीहरुका बुबाआमा आएसकेपछि अहिले बुबाआमाको जिम्मा लगाइएको छ । र, उनीहरु अहिले त्यही दुईतल्ले घरमा बसिरहेका छन् ।

केटीका बुबाआमासँग एसपी डिल्लीराज बिष्टको पुरानो चिनजान रहेको स्थानीयको भनाइ छ । बबिताकी आमासँग यसबारे कुरा गर्दा उनी ‘एसपी डिल्लीराज हाम्रा लागि भगवानसरह हुन्’ भन्छिन् ।

तर, स्थानीयवासीहरु रुष्ट हुनुको कारण के छ भने यो घटनामा दोषी पत्ता नलाग्नुमा प्रहरीको, खासगरी एसपी विष्टकै केही भूमिका हुन सक्छ कि भन्ने आशंकाले काम गरेको देखिन्छ । तर, यतिका दिनसम्म स्थानीयले जसलाई शंकाको नजरले हेरे, निर्मलाको हत्यारा पत्रा लगाउने जिम्मेवारी उनैका काँधमा थियो, जसले अन्ततः एकजना मानसिक रोगीलाई अपराधीका रुपमा कञ्चनपुरवासी समक्ष प्रस्तुत गरे । न्याय माग्ने स्थानीयवासीमाथि गोली र लाठी बर्साए ।

मानसिक रोगीको आफ्नै कथा

प्रहरीले हत्यारा र बलात्कारी भन्दै पक्राउ गरेको ४१ वर्षीय दिलिपसिंह बिष्टलाई मानसिक सन्तुलन गुमाएको ‘पागल’ मान्छे भनिएको छ । पत्रकार सम्मेलनमा प्रहरीले के भनेको थियो भने विष्टले महिलाहरुलाई जहाँ पायो त्यहीँ जिस्क्याउँदै हिँड्थ्यो, घरकै सदस्यलाई बलात्कार गर्न खोज्थ्यो । तर, यस्तो अभिव्यक्तिले प्रहरी झनै नैतिक संकटमा पर्‍यो । स्थानीयले प्रहरीको यो कार्यलाई ‘नाटकको संज्ञा’ दिए ।
निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका बिष्ट
पक्राउ परेका विष्टको घर रहेको वडा नं १८ खन्ना चाैराहमै पुगेर हामीले स्थानीयसँग बुझ्दाखेरि ती मानसिक सन्तुलन गुमाएका विष्ट त महिलामाथि आक्रमण गर्ने होइन कि महिलाहरु देख्दा बाटो छाडिदिने स्वाभावका रहेछन् । उनी महिलासँग नजिकै नआउने, महिलाले खाने कुरा दिए भने हातले नसमाएर भुइँमा राखिदिने गर्दारहेछन् ।

पक्राउ परेका विष्टले पहिले पनि भिनाजु पर्नेलाई मारेर जेल परेको प्रहरीको भनाइ छ । तर, उनले भिनाजुलाई मार्छु भनेर हानेको नभई झगडा हुँदाखेरि चिर्पटले हान्दा मृत्यु भएकाले जेल परेको स्थानीयले सुनाए । त्यसरी करिब ९ वर्ष जेल परेपछि उनको मानसिक सन्तुलन गसमेको स्थानीयले अनलाइनखबरकर्मीलाई सुनाए ।

तर, दिलिपसिंहका बुबाको भनाइ चाहिँ अलि बेग्लै छ । उनले हामीसँग गरेको दाबी के छ भने ८ कक्षामा पढ्दाखेरि उनलाई शिक्षकले निर्घात पिटेका थिए । त्यसपछि उपचारका लागि भारतको बरेलीमा लगिएको थियो । धेरै खर्च गरेर उपचार गर्दा पनि आफ्नो छोरो सञ्चो नभएको पिताको भनाइ छ ।
तर, प्रहरीले भने उनी ८ कक्षा पढ्दा प्रेम वियोगमा परेको र केटीहरुलाई समाउँदै हिँड्ने गर्दा पिटाइ खाएको दाबी गरेको छ ।

भिडियो खिचेको छ भन्दै जाहेरी दिन परिवारलाई दबाव

यसैवीच मानसिक सन्तुलन बिग्रिएको व्यक्तिलाई पक्रिइसकेपछि मृतक निर्मला पन्तका बुबालाई प्रहरीले उनीविरुद्ध किटानी जाहेरी दिन दबाव दियो । तर, निर्मलाका बुबाले त्यो केटाले प्रहरीलाई कस्तो वयान दिएको छ, मलाई सुनाउनोस् अनिमात्रै जाहेरी दिउँला भन्ने अडान राखे । प्रहरीले ‘हामीले उसको भिडियो रेकर्ड नै गरेका छौं, तपाईलाई देखाउँछौं’ भने, तर देखाएनन् ।
त्यसपछि निर्मलाका बुबाआमाले अहिलेसम्म ती मानसिक रोगीविरुद्ध जाहेरी दिएका छैनन् । उनीहरुले त्यो व्यक्ति आफ्नी छोरीको हत्यारा होला भनेर पत्याएका छैनन् ।
प्रहरीले जसलाई पागल र हत्यारा भनेर देखायो, त्यो अपराधी हैन भन्ने स्थानीयको दाबी छ । बरु घटनास्थलको वस्तुस्थिति हेर्दाखेरि स्थानीय भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरामाथि पनि छानविन हुनुपर्छ भनेर स्थानीयले माग गरिराखेको पाइयो ।

एसपी विष्टसँग नजिकको सम्बन्ध रहेको भनिएको बमको परिवार सामान्यतः हुनेखाने नै मानिन्छन् । उनीहरु दुईतले घर र व्यवसाय भएका व्यक्तिहरु हुन् । उनीहरुले आफ्नो घरसमेत भाडामा नलगाई राखेका थिए । तर, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवार भने गरीब परिवार हो । यसरी एसपीसँग राम्रो सम्बन्ध रहेको परिवारको संरक्षणमा लागेर प्रहरी प्रशासनले एकजना गरीबकी छोरीलाई न्याय निसाफ दिलाउन अटेर गर्नु नै कञ्चनपुर घटनाको अन्तर्य रहेको स्थलगगत अध्ययनबाट पाइयो ।

बलात्कार र हत्याका घटनामा कसको संलग्नता छ, अहिले नै किटेर कसैमाथि आरोप लगाइहाल्न मिल्दैन, तर वस्तुस्थितिले जोजोमाथि अनुसन्धानको माग गर्छ, तिनीहरुमाथि रौंचिरा अनुसन्धान नगर्दासम्म अपराधी पत्ता लाग्न मुस्किल छ । अपराधी भीआइपी होस् या अरु नै कोही होस्, वास्तविक दोषीलाई पत्तो लगाउनैपर्छ र निर्मलालाई न्याय दिलाउनैपर्छ ।
तर, नेकपाका नेताहरुले आफ्नो पार्टीको मेयर वा प्रहरी अधिकारी वा अरु केही आधारमा घटनालाई ढाकछोप गर्नतिर लागे भने स्वाभिमानी कञ्चनपुरबासीहरुले एसपी र सिडियोकोमात्रै होइन, दुईतिहाईवाला सरकारका गृहमन्त्रीकै राजनीनामा पनि नगराउलान् भन्न सकिँदैन, घटनाको गम्भीरता हेर्दा ।

त्यसैले यो घटनामा सरकार बेलैमा सम्वेदनशील होस् । शंकाको घेरामा रहेका व्यक्तिहरुमाथि तत्कालै छानविन थालियोस् । onlinekhabar

https://www.youtube.com/watch?v=ByaFTUAlOKU

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार