गत हप्ता नेपालका दैनिक पत्रिका समाचार संकलन, प्रस्तुतीकरणका दृष्टिले अब्बल रहे । नागरिकको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खुलेर आउने मात्र होइन सरकार चुकेको विषयमा पनि स्पष्ट रुपमा अघि आएका छन् ।
नेपाल प्रहरी एक पछि अर्को विवादमा पर्दै आएको छ, र दैनिक पत्रिकाले सो विषय सशक्तरुपमा उठान गरेका छन् । भक्तपुरमा भएको एक बालकको अपहरण र हत्याको सन्दर्भमा समातिएका अभियुक्तलाई हिरासतबाटै लगेर नक्कली मुठभेडमा मारेको घटना सेलाउन नपाउँदै भीमदत्त नगरपालिका, कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा प्रहरीले मुख्य अपराधीलाई बचाउन प्रयास गरेको आरोप लागेको छ । उक्त घटनाको विरोधमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दर्जनौं घाइते भएका छन् भने एक किशोरको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

गोबरमा चिप्लियो सरकार
भदौ ५ गते मंगलवार प्रधानमन्त्री केपी शर्मा ओली दलबलसहित विराटनगरमा रहेको एक गोबर ग्यास प्लान्टको उद्घाटन गर्न पुगे । करिब ३२ वटा घरमा गोबर ग्यास पाइपको माध्यमबाट बाँडिने उक्त परियोजना उद्घाटन गर्न केन्द्रबाट प्रधानमन्त्रीका साथ लागेर कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनका साथै संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि उक्त समारोहमा पुगेका थिए । त्यसका साथै प्रदेश १ का प्रमुख, मुख्यमन्त्री, प्रदेशका मन्त्रीहरू तथा प्रदेश सांसदसहित सरकारी कर्मचारीको ठूलो भीड जम्मा भएको थियो । त्यस अवसरमा प्रधानमन्त्रीले अब ग्यासको सिलिण्डर काँधमा बोकेर हिँडने अवस्थाको अन्त्य भएको बताएका थिए ।
गोबर ग्यासको प्लान्ट उद्घाटन गरेर अब देशभर घर घरमा खाना पकाउने उर्जामा नयाँ क्रान्ति आएको भन्ने भाषण प्रधानमन्त्रीले गरेका थिए । त्यस विषयलाई लिएर सामाजिक सञ्जालमा धेरैले गोबर ग्यासले उर्जामा क्रान्ति ल्याउने कुरालाई उडाएका थिए । त्यसको भोलिपल्ट बुधबारका दैनिकमध्ये नयाँ पत्रिकाले यस विषयलाई सबैभन्दा सशक्त ढंगले प्रस्तुत गर्यो ।
अब ग्यासको डल्लो बोकेर हिँडने युगको अन्त्य हुने प्रधानमन्त्रीको भनाईलाई चुनौती दिँदै नयाँ पत्रिकाले लेख्यो ‘गोबर ग्यास प्रविधि नेपालमा नयाँ होइन । मुलुकमा अहिलेसम्म चार लाख २० हजार परिवारले गोबर ग्यास प्लान्ट लगाइसकेका छन् ।’
सो दैनिकले कुन कुन वर्ष कहाँ कहाँ कति गोबर ग्यास प्लान्ट बनाइयो भन्ने चित्रणसमेत गरेको छ । साथै नवलपरासीमा दैनिक १५० सिलिन्डर ग्यास उत्पादन भइरहेको र अहिले पोखरामा सबैभन्दा ठूलो प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेको पनि सो समाचारमा उल्लेखित छ । त्यस्तै स्याङ्जाको खिलुङ कालिका एग्रो फार्मले पनि ३५० किलोवाट विद्युत बायोग्यासबाट उत्पादन गरेको समाचार प्रकाशित गरेको छ । यो समाचारबाट मात्र चित्त नबुझेर नयाँ पत्रिकाले यस विषयमा भोलिपल्ट अर्थात् भदौ ७ गते बिहीबारको दिन सम्पादकीय समेत लेखेको छ ।
नयाँ पत्रिका प्रधानमन्त्रीको काम कारवाहीको सम्बन्धमा सम्पादकीय लेख्दै भन्छ, ‘प्रधानमन्त्री आफैँले प्रायोजन गरेको टेलिभिजन कार्यक्रममा सहभागी भएर तथा अन्य मिडियामा अन्तर्वार्ता दिएर र अनावश्यक कार्यक्रममा गएर आफूले राम्रो काम गरेको दाबी गर्ने गरेका छन् ।’ प्रधानमन्त्रीले दिनको १० घन्टा सक्रिय रहेको दाबी गरेता पनि उनको सक्रियता सही ठाउँमा छ कि छैन भन्ने प्रश्न पनि सो दैनिकले गरेको छ ।
प्रधानमन्त्री अनावश्यक काममा, ठाउँमा र हास्यास्पद भाषण गरेर समय बर्बाद गरिहेको भन्दै गोबर ग्यासको विषयमा ठूलो काम गरेझैं दाबी गर्नुपनि त्यस्तै काम भएको टिप्पणी नयाँ पत्रिकाले गरेको छ ।







