नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सरकारले पटक–पटक पक्राउ गर्ने काम गरेको भन्दै सरकारकाे चर्काे अालाेचना गरेका छन् ।

संयोजक भट्टराईले अधिकार प्राप्तिको आन्दोलन गर्ने सबैको नैसर्गिक अधिकार हुने भन्दै नेकपासहितका शक्तिहरुसँग राजनीतिक व्यवहार गर्न पनि सरकारसँग माग गरे ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले पञ्चायतकालको झल्को आउने गरी प्रकाण्डलाई अदालतले छोड्ने तर राज्यले पक्राउ गर्ने गरेको भन्दै त्यस्तो खालको व्यवहार कसैलाई पनि राज्यले गर्न नहुने पनि स्पष्ट पारे । संयोजक भट्टराईले प्रकाण्डले लिएको बाटोमा आफू सहमत हुन नसक्ने उल्लेख गर्दै उनीहरुको मुद्दालाई भने राज्यले बुझ्नै पर्ने स्मरण पनि गराए ।

संयोजक भट्टराईले टिकापुर घटनाका मुख्य अभियुक्त करार गरी जेल सजाय भोगिरहेका रेशमलाल चौधरीलाई सांसदको सपथ खुवाउने व्यवस्था गर्न पनि सरकारलाई दवाव दिए । उनले द्धन्द्धकालमा पक्राउ परी अझै पनि जेल सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादीका कार्यकर्तालाई तत्काल रिहा गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

संयोजक भट्टराईले ब्रिटिस गोर्खालीको नागरिकता खारेज गर्ने काम नगर्न पनि सरकारलाई सुझाव दिए । उनले १२ कक्षासम्मको शिक्षालाई निःशुल्क हुने गरी ऐन बनाउन पनि सरकारसँग आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार