आइतवार बेलुका काठमाडौैंको डान्सबारमा काम गर्ने साँखु घर भई तारकेश्वरको शेषमती डेरा गरी बस्ने २० वर्षिया जेनिशा भन्ने कोपिला श्रेष्ठको रहस्यमय मृत्यु भएको छ । प्रहरीले अनुसन्धानका लागि उनका प्रेमीलाई पक्राउ गरेको छ । प्रहरीले उनका प्रेमी सागर बन्ने बहादुर कार्कीलाई पक्राउ गरेको छ । उपचारको क्रममा श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो। युवतीको चिउँडोमा चोट छ । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार युवती सुन्धाराको रोयल ग्यालेन्सी डान्सबारमा काम गर्दथिन् । विदेशमा काम गर्ने सागर करिब तीन महिनाअघि सो डान्सबारमा गएका थिए।
त्यही उनीहरुबीच चिनजान भयो। युवतीले पहिलो भेटमै उनलाई मोबाइल नम्बर दिएकी थिइन् । पछि बाहिर उनीहरुसँग भेटघाट भयो। प्रेम सम्बन्धमा जोडिए । युवतीको डेरा शेषमतिमा थियो। युवक नियमित जसो त्यहाँ पुग्न थाले। दुवै जना मदिरा पिउँथे । युवकले प्रहरीले बताए अनुसार आइतबार पनि उनीहरुले ‘छ्याङ’ र माछा खाएका थिए । मदिरामा दुवै जना मात्तिएका थिए। ‘म ट्वाइलेट गएको बेला उ झुन्डिछ,’ युवकले प्रहरीलाई भनेका छन्,‘सुरुमा त नाटक गरेको जस्तो लाग्यो, त्यतीकै खाटमा बसिरहे, पछि डोरी निकालेर उनलाई खाटमा राखे, तैपनि नबोलेपछि ट्याक्सी खोजेर अस्पताल लगेको हुँ।
घटना साँझ करिब साढे ६ बजेको हो। अस्पतालले बेलुका करिब ८ बजे युवतीलाई मृत घोषणा गरेको थियो। अस्पतालमै युवक पक्राउ परेको बालाजु वृत्तका इन्सपेक्टर जीवन निरौलाले बताए । ‘मृतकको चिउँडोमा चोट देखिन्छ,’ इन्सपेक्टर निरौला भन्छन्,‘हत्या हो कि आत्महत्या हो भन्ने कुरा पोष्टमार्टममा खुल्ने छ।’ आफूहरुबीच कुनै विवाद नभएको तर युवती मदिरामा धेरै मात्तिएकाले आत्महत्या गरेको हुनसक्ने युवकको भनाई छ। प्रहरीले युवकलाई मंगलबार अदालतमा उपस्थित गराई अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।







