
सर्वाेच्च अदालतद्धारा पटक पटक रिहा हुँदै पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डकाे रिहाइकाे माग गर्दै कालिकोटामा जुलुस निकालिएको छ ।
प्रकाण्डको गृहजिल्ला कालिकोटको माल्कोटमा स्थानीयबासी सडकमा उत्रिएका हुन् । सरकारले झुटो मुद्दा लगाएर नेकपाका पार्टी प्रवक्ता प्रकाण्डलाई बारम्बार पक्राउ गरेको भन्दै नेकपा कालिकोट माल्काेटका स्थानीयहरू सडमा उत्रिएका हुन् ।
नरहरिनाथ गाँउपालिका–६ माल्कोटमा जन्मेका विश्वकर्मालाई झुटा मुद्दा लगाएर सरकारले पक्राउ गरी अन्याय गरेको भन्दै नेकपाका स्थानीय नेता तथा कार्यकर्ता सहित स्थानीयबासी प्रदर्शनमा उत्रिएका छन् ।
नेकपाका नेता एटम बिसीको नेतृत्वमा सयाैं स्थानीय सर्वसाधारणहरूले हात हातमा प्लेकार्ड बाेकेर प्रदर्शन गरे ।
विरोध प्रदर्शनपछि माल्कोटमा आयोजित कोणसभा कार्यक्रममा नेकपाका कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसीले प्रकाण्डलाई बाराम्बार पक्राउ गरेर मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको आरोप लगाउँदै तत्काल रिहा नगरे कडा प्रतिबाद गर्ने बताए ।
उनले संघर्षका कार्यक्रमलाई बेवास्ता गरी सरकारले प्रकाण्डलाई रिहा नगरे जनताको भेलले खोसेर ल्याउने चेतावनी पनि दिए । ‘हामी क्रान्ति गरिरहेका छौँ, युद्ध गर्ने सोचमा छैनौँ’, उनले भने, ‘तर राज्यले आफूहरुलाई युद्ध गर्न बाध्य पार्दैछ ।’







