काठमाडौं– प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धन सरकार भएपनि राजनीतिक तालमेल भने हुन सकेको छैन ।
स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा चुनावमा प्रदेश २ मा यी दुई दलबीच सहकार्य भएको थियो भने सरकार पनि यी दुई दल नै मिलेर बनाएका हुन् । तर, हाल आएर सरकार सञ्चालन तथा अन्य निर्णयको विषयमा यी दुई दलबीच कुनै सहकार्य हुन नसकेको बताइएको छ । जसका कारण यी दुई दलबीच दूरी बढ्न पुगेको छ ।
फोरम नेपालका महासचिव रामसहाय यादवले सरकार सञ्चालनमा विषयमा आवश्यक समन्वय नभएको स्वीकार गरे ।
सरकार कसरी सञ्चालन गर्ने, विकासका कार्यहरु कसरी गर्ने भन्ने विषयमा दुई दलका मन्त्रीहरुको बीचमा समन्वय हुनुपर्ने भएपनि त्यो हुन नसकेको बताए । दुबै दलको नेतृत्व तहमा समेत त्यस्तो कुनै छलफल नभएको महासचिव यादवले बताए ।
प्रदेश २ मा संयुक्त सरकार गठन भएपछि सरकार सञ्चालनका लागि दुई दलले एउटा समन्वय समिति बनाउने निर्णय गरेका थिए । जसअनुसार राजपा र फोरमबाट समितिमा मुखयमन्त्रीसहित तीन –तीनजना राखिने निर्णय भएको थियो । फोरम नेपालबाट हरिनारायण यादव, महाजन यादव र वेचन मुखियाको नाम सिफारिस भएको थियो भने राजपा नेपालबाट हालसम्म कसैको नाम सिफारिस भएको छैन ।
यादवले भने, ‘सरकार गठन हुने वित्तिकै दुईटै पार्टीको सहकार्यमा सरकार सञ्चालन गर्ने निर्णय भएको थियो । त्यसका लागि समिति पनि गठन भएको थियो तर अहिलेसम्म समितिले पूर्णता पाउन सकेको छैन ।’
आरोप—प्रत्यारोप
राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाले समिति बनाउने निर्णय भएपनि फोरम नेपालले चासो नलिँदा समितिले पूर्णता पाउन नसकेको आरोप लगाए ।
‘दुई नम्बर प्रदेशमा फोरम नेपाल नेतृत्वको सरकार छ । त्यसलाई चुस्त, दुरुस्त र क्रियाशिल बनाउने जिम्मेवारी फोरम नेपालको हो’, उनको दाबी थियो, ‘ गठबन्धन बनाउनका लागि फोरम नेपालले पहल गर्नुपर्ने हो । तर उसले कुनै मतलब राखेको छैन ।’
सरकारलाई सही ढंगले सञ्चालन गर्ने दायित्व फोरमको रहेको भन्दै सोही आधारमा सरकारलाई राजपाले निरन्तरता दिने उनको तर्क थियो ।
‘फोरम र राजपा नेपालबीच राय, विचार र तालमेल कहाँ मिलेको छैन त्यसको खोजी हुनुपर्छ । त्यसमा फोरम गम्भीर देखिएको छैन । अब फोरम कहिले समन्वयकारी भूमिकामा आउँछ हामी फोरम नेपालको प्रतिक्षामा छौं’ उनले थपे ।
फोरम नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश २ मा गएर बेलामा मन्त्रीहरुलाई बसाएर छलफल गरेर आवश्यक निर्देशन दिएका छन् । प्रदेशस्तरमा भने कुनै पहलकदमी भएको देखिँदैन । यसो त राजपाका नेताहरुले पनि फोरमको बाटो हेर्नुबाहेक अरु पहलकदमी लिएको देखिँदैन ।
यी दुई दलको बीचमा आपसी समझदारी नभएको कारण प्रदेश २ को सरकार कमजोर भएको बुझाई कतिपयको छ । फोरम नेपालले आफ्नै तरिकाबाट सरकार सञ्चालन गरिरहेको छ भने राजपा नेपालले पनि आफ्नै तरिकाबाट काम गरिरहेको छ । यति मात्र होइन, दुई दलका मन्त्रीहरुको बीचमा पनि समन्वयको अभाव देखिएको बुझाई सरोकारवालाहरुको छ ।
जनकपुरका पत्रकार एवं साहित्यकार रामभरोस कापडीले मन्त्रीहरुबीचमा समन्वय नहुँदा सरकारले गरेको कामको प्रभाव जनतामा नदेखिएको बताए । कापडीले सरकार सञ्चालनका लागि दुई दलले संयुक्त समिति बनाएर काम गरे प्रभावकारी हुने सुझाव दिए ।
दुई दलबीच समन्वयको अभाव रहेको उदाहरणको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदलाई गरेको सम्बोधनलाई लिन सकिन्छ । भदौं २ गते प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दा फोरम नेपालले सकारात्मक रुपमा लिँदै स्वागत गरेको थियो भने राजपा नेपाल विरोध गर्यो । विरोध मात्र होइन, कतिपय मन्त्री तथा सांसदले सम्बोधनलाई बहिष्कार नै गरे । त्यसले गर्दा दुई दलको बीचमा झन् तिक्तता बढेको बताइएको छ ।
कहाँबाट बढ्यो दूरी ?
राजपा नेपाल गठन हुनुअघि नै फोरम नेपालसहितको एउटा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा थियो । मोर्चा मात्र होइन एउटा ३३ दलीय लोकतान्त्रिक गठबन्धन पनि थियो ।
सोही मोर्चा तथा लोकतान्त्रिक गठबन्धनबाट मधेसमा आन्दोलन भएको थियो। आन्दोलन चलिरहेकै बेला फोरम नेपालले मोर्चामा रहेका अन्य दललाई जानकारी नै नदिई स्थानीय तहको चुनावमा भाग लियो । जब कि चुनावमा भाग नलिने भन्दै ती (फोरम गणतान्त्रिक, तमलोपा, सद्भावना, तराई मधेश सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी) दलसँग सहकार्य गर्दै आन्दोलनमा लागेको थियो ।
फोरम नेपालले चुनावमा भाग लिने निर्णय गरेसँगै २०७४ वैशाख ७ गते राजपा नेपाल गठन भएको थियो ।
फोरम नेपालले चुनावमा भाग लिएपछि राजपा नेपालले पहिलो केन्द्रीय समितिको बैठकबाट औपचारिक रुपमा मोर्चा विघटन भएको घोषणा गरेको थियो । पछि, उपेन्द्र यादवलाई गठबन्धनको संयोजकबाट हटाएर महन्थ ठाकुरलाई तोकिएको थियो । यहीबाट यी दुई दलको बीचमा दूरी बढेको थियो ।
दुई नम्बर प्रदेशबाहेकका ठाउँमा पनि फोरम नेपाल चुनावमा भाग लिएको थियो । राजपा नेपालले त्यसको खुलेर विरोध गर्यो । यहाँसम्म कि फोरम नेपालका उम्मेदवारलाई हराउन राजपाले जिल्ला जिल्लामा गोप्य सर्कुलर पनि पठाएको थियो ।
फोरम नेपालले चुनावमा भाग लिएपनि सोचे जस्तो नतिजा प्राप्त गर्न सकेन । त्यसपछि दुई नम्बर प्रदेशमा भएको तीनै तहको चुनावमा दुई दलले गठबन्धन बनाएर भाग लिए । र, ती दुईटै दलले सोचे अनुसार नतिजा पनि प्राप्त गरे ।
प्रदेश २ मा फोरम नेपाल र केन्द्रमा राजपा नेपाल ठूलो दल भयो ।
प्रदेशमा फोरम नेपालले ठूलो दलको हैसियतले राजपा नेपालको सहयोगमा सरकारको नेतृत्व गर्यो भने यता केन्द्रमा पनि सरकारमा सहभागी भयो ।
गठबन्धन बनाएर चुनाव लडेका राजपा र फोरमबीचको सम्बन्ध प्रदेशमा सरकार बनाएसम्म ठिक थियो । तर, तर, फोरम नेपाल एक्लै केन्द्रीय सरकारमा सहभागी भएपनि समस्या उत्पन्न भएको नेताहरु बताउँछन् । जबकी केन्द्रीय सरकारमा जाँदा पनि गठबन्धनकै हैसियतामा जाने यी दुई दलबीच समझदारी भएको थियो ।
फोरम सरकारमा सहभागी भएपछि राजपा नेपालको अध्यक्षमण्डलको बैठकले फोरम नेपालसँग कुनै पनि सहकार्य नगर्ने निर्णय नै गर्यो । जसले गर्दा दुई दलका दूरी थप बढ्न पुगेको हो ।
प्रदेशमा संयुक्त सरकार भएपनि दुई दलको मुख दुईतिर फर्किएको छ ।







