कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएपछि नयाँ आएका प्रहरी प्रमुख एसपी कुबेर कडाँयतले हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्ने क्रममा निलम्बनमा परेका तत्कालिन एसपी डिल्लीराज विष्ट गुपचुप लागेर बसिरहेकाे बेला उनका छोराले आफूलाई निर्मला हत्याकाण्डमा जोडिएकोमा आपत्ति प्रकट गरेका छन् ।
निलम्बनमा परेका तत्कालिन एसपी डिल्लीराज विष्टले एक दैनिक पत्रिकालाई अन्तरवार्ता दिदै उनले समय आपछि बोल्ने भन्दै माैनता कायम राखेका छन् । तर उनका छाेराले आफूलाई अनाहक यस हत्या काण्डमा जोडिएकोमा आपत्ति प्रकट गरेका छन् ।
विष्टका छोराले लिखित रुपमा आफ्नो ७ बुँदे धारणा सार्वजनिक गरेका छ।
सार्वजनिक गर्दै भनेका छन्, ‘‘कल्पना नै नगरेको निन्दनीय र घृणित कार्यमा एसपी विष्टको छोराको संलग्नता भएको भनी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचार–प्रसार भएको कुरा निराधार, तथ्यहिन, भ्रामक समाचार प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गर्न खोजिएकोले आधिकारिकता पुष्टि नभई प्रमाण बिना प्रशारण नगर्न अनुरोध गर्दछु ।’’
साउन १० गते आफ्नो जन्मदिन रहेको र आफू त्यसदिन दिनभर फोटो सुटमा व्यस्त रहेको अनि साँझ घरमै आएर सुतेको पनि उनले उल्लेख गरेका छन् ।
निर्मला पन्तले न्याय पाउनुपर्ने पक्षमा आफू पनि रहेको र आफूले अनुसन्धानमा पूर्ण सहयोग गर्ने वचन पनि एसपी विष्टका छोराले दिएका छन् ।
‘‘निर्मला पन्त बहिनीले न्याय पाउनुपर्छ, असली अपराधीले सजाय पाउनुर्छ । यसका लागि अनुसन्धान प्रक्रियामा म सघाउन तयार छु र म निर्दोष भएको प्रमाण पनि दिन सक्छु’, उनले लेखेका छन् । उनले आफूले बम दिदी–बहिनी र मेयरका भतिजालाई नचिनेको पनि दाबी गरेका छन् ।







