मैले मंगलबार लेखेको ‘निर्मला हत्याकाण्डका नखुलेका पाटा’ शीर्षकको लेखमा केही महत्वपूण कुरा छुटेका हुनाले लेखलाई निरन्तरता दिएको हुँ । आमपाठकको बुझाई निखार्नु तथा उच्चस्तरीय अनुसन्धान टोलीलाई सहयोग पुर्याउनु मात्रै यो लेखको उद्देश्य हो । यो लेखमा मात्रै होइन एक महिनाभन्दा लामो अवधिमा मेरा लेख, मेरो सम्पादकीय दायित्व रहेका समाचार र मेरा फेसबुक स्टाटसमा कहिंकतै एसपी विष्ट वा अन्य व्यक्तिको निजी र पारिवारिक जीवनलाई कहिंकतै छोइएको छैन ।

हो, जिम्मेवार व्यक्तिको चरित्र घटनाको महत्वपूर्ण पाटो भए पनि यो अधिकार हामीसँग नभएकोले मैले त्यसलाई सार्वजनिक गर्ने कुरै भएन । अनुसन्धानकर्ताहरुका लागि भने व्यक्तिको निजी चरित्र महत्वपूर्ण हुन्छ । त्यसैले, निर्मला हत्याकाण्डका सम्भावित–आशंकित अभियुक्त र प्रहरीका सम्बन्धित अधिकारी–अधिकृतहरुको पृष्ठभूमि र चरित्रको अध्ययन गर्न पनि म उच्चस्तरीय समितिलाई आग्रह गर्दछु । यो पाटो अनुसन्धान टोलीले छुटाउनै हुँदैन । हत्याकाण्डको अनुसन्धानको दायरामा आएका र आउने सबैको यो पक्ष हेरियो भने वास्तविक अपराधीसम्म पुग्न सजिलो हुनेछ ।
नैनराम सार्की कनेक्सन
नैनराम सार्कीको हत्याको आरोप टाउकोमा बोक्ने कालु विकलाई पनि निर्मला हत्याकमाण्डको पृष्ठभूमि बुझ्न सोधपुछको दायरामा ल्याए तस्वीर प्रष्ट गर्न सहयोग मिल्ने छ । नैनराम हत्या प्रकरण बंग्याउन र दवाउने सूत्रका रुपमा काम गरेका केही प्रहरी अधिकृतहरु निर्मला हत्याकाण्डमा पनि महत्वपूर्ण भूमिकामा रहे । नैनरामको हत्या गड्डाचौकी इलाका प्रहरी कार्यालयको क्षेत्रमा भएको थियो । त्यो इप्रकाका सईलाई पछि निर्मला हत्याकाण्डको अनुसन्धानमा खटिएको सीआइबीको सहयोगी बनाएर ल्याइयो । गड्डाजस्तो महत्वपूर्ण इप्रका इन्चार्जलाई किन अस्थायी रुपमा यो काममा खटाइयो भन्ने प्रश्नको उत्तर खोज्न जरुरी छ ।
अर्कोतिर फसाउन खोजिएका चक्रदेव वडूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक अपराधको मुद्दा चलाउँदा प्रहरीले नै जाहेरी दिएको थियो । प्रहरी जाहेरीमा वडा नं. ११ बस्ने सार्की थरका केही व्यक्तिलाई साक्षी राखेको सूचना प्राप्त भएको छ । ती साक्षीहरु नैनराम काण्डमा पीडित पक्षले आरोपित गरेका व्यक्ति त होइनन् भन्ने पनि जाँच्नु जरुरी छ ।
सीआइबीको टोली घटनाको तेस्रोे दिन नै महेन्द्रनगर आएको थियो । टोलीलाई सहयोग गर्न गड्डाकै इन्चार्ज किन आवश्यक परे भन्ने प्रश्नको उत्तर पाइयो भने अनुसन्धान टोलीलाई अगाडि बढ्न धेरै सजिलो हुने छ । निम्बुखेडा बस्ने चक्रदेवविरुद्धको जाहेरीमा भुजेलाका साक्षी किन राखियो भन्ने प्रश्न पनि कम महत्वपूर्ण छैन ।
अम्बाको रुखको रहस्य
निर्मला अन्तिम पटक ज्यूँदै देखिएको भगतपुरस्थित बम परिवारको घरको अम्बाको रुख काटिएको मात्रै होइन जडखोदान नै भएको बताइएको छ । मैले भने त्यो घरको कम्पाउण्डभित्र खुट्टा राखेको छैन । लटरम्म फलेको सिजनको अम्बामाथि किन रिस पोखियो भन्ने बुझ्न साह्रै कठीन छ । यो बुझ्न हिरासतमा रहेका बम दिदीबहिनीका बाबुआमालाई समेत पोलिग्राफ आवश्यक छ ।
निर्मलाले बोकेको भनिएको अम्बाको पोलिथिन (जुन शव पाइएको ठाउँ नजिक पाइएको थियो) र बम परिवारको घरको अम्बाको जात मिल्थ्यो कि मिल्दैन थियो भन्ने थाहा पाउन अब सम्भाव छैन किनभने बम परिवारको आँगनको अम्बाको रुखको अब सुकेको हाँगा पनि पाउन कठीन छ । निर्मलाको शव पाइएको ६ दिनपछि अम्बाको रुख काटिनुले उब्जाएको प्रश्नको चित्तबुझ्दो उत्तर महेन्द्रनगरवासीले पर्खिरहेका छन् ।
दिलिप विष्टको बारेमा
दिलिप विष्ट मानसिक सन्तुलन गुमाएका भनेर सबैले चिनेका व्यक्ति हुन् । उनी मानसिक समस्या भएका व्यक्ति हुन् कि होइनन् भन्ने अबको मेडिकल अनुसन्धानले बताउने छ । तर, यस प्रकरणमा उनको परिवार र नजिकका मान्छेले केही लुकाएको आभाष भएको छ । विशेष गरी दिलिप खैरभट्टीको बाटो मात्रै हिंड्थे, शव पाइएको स्थलको बाटो कहिल्यै हिंडदैन थिए भन्ने दावी अर्धसत्य रहेको देखिएको छ ।
कञ्चनपुर कारागारमा करिब १० वर्ष विताएका दिलिप प्रायःजसो कारागार जान्थे । राम्रो व्यवहारका कारण गत वर्ष जेठमा मात्रै जेलमुक्त भएका उनका साथीहरु अझै कारागारमा छन् । उनलाई कारागारभित्र आउन जान सजिलो थियो । त्यहाँ उनी कैदीबन्दी साथीभाई र चिनेका प्रहरीलाई भेट्थे । दिलिपलाई त्यहाँ सबैले माया गर्थे र केही न केही दिन्थे । त्यसैले उनी कारागारमा प्रायः जान्थे ।
बेलुकातिर कारागार गएर फर्कँदा उनी भाँसी नहर हुँदै भगतपुरस्थित बम दिदीबहिनीको घर अगाडिको बागफाँटा जाने बाटो निस्केर निर्मलाको शव पाइएको स्थान हुँदै घर जान्थे । कुकुरसँग असाध्य डराउने हुँदा उनको हातमा सधैं लट्ठी हुने गथ्र्यो । भदौ १ गते प्रहरीले उनलाई त्यही बाटो हुँदै गइरहेका बेला शव पाइएको स्थलभन्दा करिब डेढ किलोमिटर टाढा खोल्टी स्कूलनजिक समातेको हो ।
तर उनी प्रायः साँझ नै घर फर्कन्थे । दिउँसो २–३ बजे घर फर्केको उनका परिवार र छरछिमेकलाई समझना छैन । प्रहरीको पछिल्लो भनाई अनुसार निर्मला करिब २ बजे बम परिवारको घरबाट निकस्केकी थिइन् ।
दिलिप त्यो बाटो कहिल्यै नहिंड्ने परिवारजनको दावी गलत हो । यसको अर्थ दिलिपले नै निर्मलाको बलात्कार र हत्या गरेको भन्ने हुँदैन । दिलिप अत्यन्त कमजोर शारिरीक अवस्थामा थिए । उनीसँग १३ वर्षकी किशोरीलाई कब्जामा लिएर दिउँसै व्यस्त सडकछेउ बलात्कार गर्ने र हत्या गर्ने शारिरीक शक्ति भने थिएन । हो, दिलिप खानेकुरा वा पैसाको लागि अरुको सानोतिनो काम गरिदिन्थे । निर्मलाको शव व्यवस्थापनमा कसैले उनको सहयोग लिएको अनुमान गर्न सकिन्छ । तर, अब त्यो अनुमान पनि गलत ठहरिने छ ।
किनभने, दिलिप अस्थिर मनस्थितिका व्यक्ति हुन् । भदौ १ मा प्रहरीले कब्जामा लिएर चर्को यातना दिएपछि उनलाई भदौ ४ मा जिल्ला अदालतमा म्यादका लागि हाजिर गरिएको थियो । अदालतमा न्यायाधीश सामु उनले आफूलाई त्यो घटनाबारे केही थाहा नभएको बताएका थिए । न्यायाधीशले उनलाई पेश गर्ने इन्स्पेक्टरलाई समेत कडा शब्दमा चेतावनी दिएका थिए ।
खेम भण्डारी







