नेपाली सुरक्षाालार्इ ठाडै चुनाैती दिनेगरी भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी अाफ्नाे विशेष कमाण्डाे टाेलीसहित काठमाडौं आइपुगेका छन्।

आजबाट सुरु हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागि हुन मोदी काडमाडौं आएका हुन्।
मोदीको सुरक्षाका लागि नेपाल सरकारले विशेष सयन्त्र अवलम्बल गरे पनि भारत सरकारले नेपालमा मोदीलार्इ खतरा भएको समिक्षा गर्दै सुरक्षा स्वरुप उत्कृष्ट भारतीय कमाण्डोहरु नेपालमा ल्याएकाे छ।
मोदीको भ्रमण तय भएपछि भारत सरकारले परराष्ट्र मन्त्रालयलार्इ एक पत्र लेख्दै मोदीको सुरक्षाका लागि भ्रमण समूहमा कमाण्डो र हतियार भित्र्याउने अनुमति लिएको परराष्ट्र प्रवक्ता भरत पौड्यालले बताए।
उनका अनुसार भारतले मात्र नभएर बंगलादेश लगायतका देशले आफ्ना उच्च अधिकारीको सुरक्षाका लागि एउटा सुरक्षा समूह र हतियार ल्याउने अनुमति मागेको थियो।
अत्याधुनिक रुपमा प्रशिक्षित भारतीय स्पेशल प्रोटेक्सन ग्रुप्स (एसपीजी)ले आफ्ना देशका कुनैपनि भीभीआइपी विदेश भ्रमणमा जाँदा त्यसको समिक्षा गर्छ। सुरक्षा मामिलाका जानकारहरुका अनुसार नेपालमा मोदीलाई कति सुरक्षा थ्रेट छ भनेर सबै कुराको जाँचबुझ गरेर उनीहरुले योजना बनाउँछन् र त्यसै अनुसार पठाउँछन्।
एसपीजीकै सुरक्षा आंकलन अनुरुप नै मोदीले नेपालमा हतियारसहितका सुरक्षाकर्मी ल्याउने गरेका छन्। मोदीको हिन्दुत्व नीतिका कारण विश्वका प्रख्यात आतंकवादी समुहबाट मोदीलाई खतरा रहेको सुरक्षा मामिलाका जानकारहरुले बताउँछन्।
मोदीको फेरि विरोध
मोदीले आफुसँगै सुरक्षाको नाममा जम्बो टोली भित्र्याएको भन्दै विरोध भएको छ। आयोजकले विशिष्ट विदेशी पाहुनाहरुको सुरक्षा व्यवस्थाका लागि ४ तहको घेरा बनाएको छ। तर, अन्य राष्ट्रप्रमुखहरुलाई नेपाली सुरक्षा अंगले नै सुरक्षा दिइरहेको अवस्थामा भारतीय प्रधानमन्त्रीको हकमा भने त्यस्तो लागु नहुनुले नेपालको सुरक्षा प्रणालीमा भारत विश्वस्त नहुनु तथा भारतले नेपाललाई हेर्ने प्रवृत्तिसमेत प्रकाशमा आएको चर्चा हुन थालेको छ।
यसअघिको भ्रमणमा पनि मोदीको सुरक्षार्थ ४५ जना भारतीय विशेष सुरक्षा फौज खटिएकोमा व्यापक आलोचना भएको थियो।
भारतीय प्रधानमन्त्रीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी केही दिनदेखि काठमाडौंमा बसेर सुरक्षाको व्यवस्था मिलाइरहेका छन्। मोदीका लागि आवश्यक बुलेटप्रुफ गाडी समेत केही दिन अगाडि नै काठमाडौं ल्याइसकेको छ।
केन्द्रीय सुरक्षा समितिले बिमस्टेक बैठकमा सहभागी हुने विशिष्ठ पाहुनाहरुलाई रोहिंग्या शरणार्थीदेखि लिबरेसन अफ तमिल टाईगर इलम लिट्टेसम्मबाट खतरा रहेको विश्लेषण गरेको छ।
समिति स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र श्रीलंकाका राष्ट्रपति मैत्रीपला सिरिसेनालाई सबैभन्दा बढी सुरक्षा खतरा छ। नेपालमा इन्डियन मुजाहिद्दिन आईएम अतिवादी र आतंकवादी संगठन समेतको उपस्थिति देखिएको गुप्तचर निकायका विभिन्न प्रतिवेदनले देखाएको छ।







