महोत्तरीको औरही नगरपालिका–१ का सन्तोष चौधरीकी दुधे बालिका सोनालिका चौधरीको अपहरणपछि भएको हत्या पश्चात बढेको तनावले उग्र रुप लिने संकेत देखा परेको छ ।

हत्यारालाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

औरही नगरपालिका–१ स्थित औरही बजारमा किराना पसल चलाउँदै आएका चौधरीकी ८ महिने छोरी सोनालिकाको गत आइतवार अपहरणपछि हत्या भएको थियो । गत आइतवार साँझ चौधरीकी ८ महिने छोरीलाई पसलमा आमासँगै रहेको बेला भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले खेलाउने बहानामा अपहरण गरी लगेका थिए । १ दिनपछि सोमवार बालिकाको शव औरही गाउँभन्दा पूर्व खेतमा भेटिएको थियो ।

बालिकालाई बलात्कार गरी हत्या गरिएको शवको प्रकृतिले देखिएपनि बलात्कार नै गरेर हत्या भएको हो भन्नेबारे शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन बताउन सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताएका छन् ।

बालिका अपहरणमा संलग्नलाई तत्काल पक्राउ गरेर कारवाही अगाडी नबढाएसम्म आन्दोलन चर्काउने स्थानीयले जनाएका छन् । घटनाको विरोधमा स्थानीयले औरही बजारसमेत बन्द गरेका छन् । बजार, पसल, शिक्षण संस्थासमेत बन्द भएका छन् ।

बन्दका कारण बर्दिबास–जलेश्वर औरही सडक अवरुद्ध भएको छ । स्थानीयले सडकमा टायर बाली प्रदर्शन गरिरहेका छन् । घटनाको सत्यतथ्य छानविन गरेर पीडितलाई राहत र अभियुक्तलाई कारवाहीकोप माग गर्दै स्थानीय व्यापारी, बुद्धिजीवि, विद्यार्थी, समाजसेवी एवं सर्वसाधारण, नागरिक समाज, लगायत थुप्रै सर्वसाधारण आन्दोलनमा उत्रेका छन् ।

आन्दोलनकारीले बालिका बलात्कारी एवं हत्यारालाई पक्राउ नगरेसम्म संघर्षका कार्यक्रम यथावत् राख्ने चेतावनीसमेत दिएका छन् । चक्काजामका कारण जलेश्वर–बर्दिबास सडकखण्डको औरही बजारको दुवैतिर सयौं बस, ट्रक, जीप, कार, मोटरसाइकल अलपत्र परेका छन् भने हजारौ यात्रु अलपत्र परेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार