नेपाल कम्यनिष्ट पार्टीले जिल्लाका एक जनप्रतिनिधिको घर कब्जाको घोषणा गरेको छ । माडी गाउँपालिकाको १ नम्बर वडाका सदस्यको घर कब्जा लिएको नेकपा माडीले जनाएको छ ।
नेकपाले गठन गरेको स्थानीय जनपरिषद्का कार्यकर्ताले विहीबार वडा सदस्य हरिप्रसाद घर्तीको पेदीखोलास्थित घर कब्जा गरेका हुन् । वडा सदस्य घर्तीले भ्रष्टाचार गरेको त्यसबारे जनतालाई जवाफ दिन तयार नभएको भन्दै परिषदले घर कब्जा गर्नु परेको बताएको छ ।
वडा सदस्य घर्तीले विकासको लागि आएको १८ लाख रुपैयाँको हिसाब देखाउन नचाहेको नेकपाका माडी गाउँपालिका प्रमुख सूर्य खड्काले जानकारी दिए । घर्तीले भ्रष्टाचार गरेको सबै प्रमाणले पुष्टि भइसक्दा पनि स्वीकार गर्नुको साटो भाग्दै हिडेको खड्काले बताए ।
घर कब्जाको क्रममा स्थानीय प्रतिनिधिसहित नेकपाका ४० जना नेता–कार्यकर्ताको सहभागिता थियो ।
यसअघि नेकपाले घर्तीले भ्रष्टाचार गरेको विषयमा छानविन गर्न विजय घर्तिमगरको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । अन्तिम रिपोर्ट नआएपनि घर्तीले भ्रष्टाचार गरेको पुष्टि भएको समितिले जनाएको छ ।







