विश्व व्यापार सङ्गठन ‘डब्ल्यूटीओ’ले आफूसँग गर्ने व्यवहार परिवर्तन नगरे अमेरिकाले सो सङ्गठन छोडिदिने चेतावनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएका छन्।
विश्वस्तरमा हुने व्यापारिक गतिविधिको नियमन तथा अन्तरदेशीय व्यापारिक द्वन्द्वको समाधान गर्ने उद्देश्यले डब्ल्यूटीओको स्थापना भएको थियो। तर संरक्षणवादी नीतिहरुमा विशेष जोड दिइरहेका राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनले अमेरिकासँग “पक्षपातपूर्ण व्यवहार” गरेको बताएका छन्।ट्रम्पको चेतावनीले उनको व्यापार नीति र डब्ल्यूटीओको खुला व्यापार प्रणालीबीचको द्वन्द्व उजागर गरेको छ।
पछिल्लो विवाद चर्किँदै जाँदा वाशिङ्टनले डब्ल्यूटीओको द्वन्द्व व्यवस्थापन गर्ने न्यायाधीकरणमा न्यायाधीश नियुक्तिको प्रक्रिया रोकिदिएको छ। जसले त्यहाँको न्यायिक प्रक्रियामा गम्भीर असर पार्न सक्ने बताइएको छ। अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइटहाइजरले डब्ल्यूटीओले अमेरिकाको सार्वभौमिकतामा खलल पुर्याएको आरोप लगाएका छन्।
ट्रम्पले डब्ल्यूटीओको “अनुचित व्यापारिक व्यवहार”को पहिलेदेखि नै विरोध गर्दै आएका थिए। पछिल्ला केही महिनायता संयुक्त राज्य अमेरिका विभिन्न व्यापारिक द्वन्द्वमा फसेको छ। ऊ र चीनबीचको व्यापारिक द्वन्द्वको असर विश्वव्यापी हुने ठानिएको छ।
अमेरिका भित्रने विदेशी सामानहरुमा थप कर लगाउन थालेपछि त्यो डब्ल्यूटीओको मर्म विपरित भएको भन्दै चीनले आलोचना गर्दै आएको छ।news24nepal.बाट







