काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त प्रकरणबारे शून्यदेखि नै अनुसन्धान जारी रहेको छ । उच्च स्रोतका अनुसार शून्यदेखि अनुसन्धान गरिएको भए पनि धेरै प्रमाणहरु नष्ट गरिएको पाइएको छ ।
चौतर्फी दबाबपछि गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय टोली पनि कञ्चनपुरमै छ । गत साउन १० गते साथीको घर जान भन्दै हिँडेकी निर्मला ११ गते उँखुबारीमा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको पुष्टि प्रहरी र अनुसन्धानले गरिसकेको छ । कञ्चनपुर प्रहरी र सीआईबीको टोलीले मानसिक सन्तुलन ठिक नभएको भनिएका भीमदत्त नगरपालिका १९ का दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेपछि आन्दोलन चर्किएको छ ।
आन्दोलनमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो भने कयौं घाइते छन् । घटनामा लापरवाही गरेको भन्दै कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्ट निलम्बनमा परेका छन् । स्थानीयको दबाबपछि कञ्चनपुर प्रहरीले भदौ ९ गते शनिबार अनुसन्धानका लागि निर्मला गएको साथी रोशनी र उनकी दिदी बबिता बमलाई पक्राउ गरेको थियो । जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर अनुसन्धान प्रक्रियामा उनीहरुलाई लिइएको भएपनि बयानबाट नयाँ कुरा नआएको र बम दिदीबहिनीले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको स्रोतले बताएको छ ।
ad
आफ्नो चाहनामा भन्दा पनि स्थानीयको दबाबमा समातेका उनीहरुसँग प्रहरीले सामान्य बयान गरेको स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझा घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानबारे अहिले टिप्पणी नगर्ने बताउँछन् ।
प्रहरी हिरासतमा रहेका बम दिदीबहिनीलाई निर्मलासँगको चिनाजान र सम्बन्ध, साउन १० गतेको बसाई, अम्बाको बोट काट्नुको कारण, घरमा रंगरोगन गर्नुको कारण, उनीहरुले निर्मला पोइल गएकी होली, लाश पनि त्यत्तै होला भनी दिएको अभिव्यक्तिबारे पनि सोधपुछ भएको बताइएको छ । स्रोतका अनुसार कञ्चनपुर प्रहरीले यसअघिकै अनुसन्धानलाई सदर गर्ने तयारी गरेको छ । यद्यपी गृहले गठन गरेको समितिले सरकारलाई बुझाउने प्रतिवेदनमा के आउँछ भन्ने चासोको विषय बनेको स्थानीय बताउँछन् । टोलीले स्थानीयसँगको भेटघाट, घटनास्थलको अनुगमन, पीडितका आफन्त लगायतसँग भेट गरेको छ ।
निलम्बित एसपीलाई बचाउन पूर्व माओवादी नेता सक्रिय
कञ्चनपुर घटनाको सत्यतथ्य बाहिर नआएसम्मका लागि निलम्बनमा परेका तत्कालीन एसपी डिल्लीराज विष्टलाई बचाउन पूर्वमाओवादी नेता सक्रिय भएका छन् । पूर्वमाओवादी नेतासँगै केही बहालवाला डीआईजी पनि विष्टमाथि लागेको निलम्बन फुकुवा गर्न विभिन्न दलका नेताहरुसँग लविङ गरिरहेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार एसपी विष्ट प्रदेश ७ का पूर्वमाओवादी नेताहरुको दैलोमा पुगेका छन् । तत्कालीन माओवादी नेताकै रोजाइमा कञ्चनपुर गएका विष्टलाई बचाउन जिल्ला नेतादेखि केन्द्रीय नेतासम्म लागेका छन् । स्रोतले भन्यो, ‘‘एसपी विष्ट काठमाडौंमै रहेका केही पूर्वमाओवादी नेताहरुको घरमा पुगेका छन् ।”
आईजीपीलाई गृहमन्त्री र गृहसचिवको निर्देशन
महिला हिंसा र बलात्कारका घटना बढ्दै गएपछि आलोचनाको पात्र बन्दै आएका गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले आईजीपी सर्वेन्द्र खनाललाई बलात्कारका घटना न्यूनिकरण गर्ने योजना बनाउन निर्देशन दिएका छन् । गृहमन्त्रालयमै बोलाएर बिहीबार गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।
आईजीपीलाई गृहमन्त्रीले भने, ‘‘बलात्कारका घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध हो । कहीँकतै त्यस्तो भएको भए उनीहरुलाई समेत कारवाहीको दायरामा ल्याउनुस् ।’’ यस्तै गृहसचिव राईले आईजीपीलाई निर्देशन दिँदै भनेका छन्,‘‘ कञ्चनपुरक बालिका मृत्यु घटनाको सत्य, तथ्य बाहिर ल्याउनका लागि गठित छानबिन समितिलाई सहयोग पुग्नेगरी सबै पक्षले काम गर्नुस् ।’’baahrakhariबाट







